शवसम्म पुर्‍याउने नै अभियुक्त


७ पुष २०७८, बुधबार
hatya aaropi pakrau2021 12 21 11 09 29

मोरङ । मोरङको रंगेली नगरपालिका-२ की २१ महिने निशा उराउको शव खाल्डोमा पुरिएको अवस्थामा पाइएको थियो। मंसिर २६ गते हराएकी बालिका २८ गते फेला परिन् । प्रहरीका अनुसार खेल्दै जाने क्रममा अबोध नाबालिका फुपू संगीताको घरमा पुगेकी रहिछन् । घरमा आएकी नबालिका (भदैनी) को हत्या संगीता फुपू) ले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घरमा आएर रोएको र चकचक गरेको भन्दै थप्पडले हानेर संगीताले भदैनी (दाजुकी छोरी) को हत्या गरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले भने, ‘थप्पड हान्दा पिँढीबाट झरेर मृत्यु भएपछि नाबालिकाको शवलाई संगीताले जेब्रा झोलाभित्र हालेर बाकसमा राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

child 1 20211222012628

इटहरीमा सडक निर्माणमा गएका पति ४६ वर्षीय सैनी उराउलाई बोलाएर शव व्यवस्थापनका लागि सहयोग मागेको खुलेको छ । श्रेष्ठका अनुसार आफैंबाट मारिएकी भदैनीको शवलाई बाकसमा हालेर रातभर घरभित्रै राखेकी संगीताले भोलिपल्ट पतिको सहयोगमा कोदालोले पैनीमा खाल्डो खनेर गाडिदिएको पत्ता लागेको हो । प्रहरीले उक्त कोदालो समेत बरामद गरेको छ । निशाको शव घरदेखि लगभग ६० मिटर टाढा पैनीमा पुरिएको अवस्थामा पाइएको थियो ।

प्रहरीका अनुसार हत्यापछि भदैनीको शव गाडेको स्थान सुरुमा उनै निशाले देखाएकी थिइन् । ‘सबैतिर खोजी गर्दा पनि नाबालिकालाई फेला पार्न नसकिएका बेला भर्खर खनिएको खाल्डो जस्तो छ भनेर संगीताले शव गाडेको ठाउँमा पुर्‍याइन्,’ प्रहरी स्रोतले भन्यो, ‘उत्खनन गर्दा खाल्डोभित्र नाबालिकाको शव भेटियो ।’ त्यसपछि संगीता प्रहरीको निगरानीमा परिन् । खाल्डोबाट शव बाहिर निकाल्दा नाबालिकाको देव्रे आँखामा चोट थियो ।

संगीताले हत्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेको डीएसपी श्रेष्ठले बताए । संगीता र उनका पनि सैनीलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइएको श्रेष्ठले बताए ।

‘छोरी हराएपछि खोजी गरिरहेका थियौँ। तर हत्या गरेर गाडेको अवस्थामा एक्कासि खाल्डोभित्र शव भेटियो,’ निशाका बुवा चन्द्र उराउले भने, ‘छोरीको हत्या बहिनीले गरेको सुन्दा पत्याउनै कठिन भइरहेको छ । यति निर्दयी बनेर उसले यस्तो जघन्य अपराध गर्छे होला भन्ने सोच्न पनि सकिएको थिएन ।’ चन्द्रका अनुसार छरछिमेकी र आफन्त कोहीसँग कुनै रिसइबी थिएन । नाबालिकाको शवको पोस्टमार्टम विराटनगरस्थित कोसी अस्पतालमा गरिएको थियो । घटनाको अनुसन्धान जारी रहेको र पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जानकारी डीएसपी श्रेष्ठले दिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७