थप ६ लाख ६४ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो


९ पुष २०७८, शुक्रबार
pfizer received1640319791

काठमाडौं । नेपालमा थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत आज (शुक्रबार) बिहान खोप नेपाल आइपुगेको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार कोभ्याक्स अन्तर्गत अमेरिकाबाट आएको फाइजर खोप भण्डारमा ल्याइएको छ । फाइजर खोप माइनस ७० डिग्रीसम्म भण्डारण गर्नुपर्ने हुन्छ ।

सरकारले आगामी १३ पुसदेखि काठमाडौं उपत्यकासहितका ८ जिल्लामा र केही दिन भित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई कोभिडविरुद्धको फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको छ ।

नेपालले कोभ्याक्स सुविधामार्फत् फाइजर खोपका १ लाख ६२० मात्रा कार्तिक महिनाको दोस्रो साता प्राप्त गरेको थियो। सुरुमा उक्त खोप यस अघि खोप लगाउन छुटेका १२ वर्ष माथिका दीर्घ रोगीहरूलाई उपलब्ध गराइएको थियो ।

सरकारले प्रदेश-१ का झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, धनुषा, र पर्सा, बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली, गण्डकी प्रदेशका कास्की र बागलुङ‚ लुम्बिनी प्रदेशका रूपन्देही, बाँके र दाङ‚ कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर खोप दिने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७