सुन तस्करी प्रकरण : गोरेका भाइ रमेश दुई लाख धरौटीमा रिहा


२२ पुष २०७८, बिहीबार
Goreko vai Adalatma

मोरङ । ३३ किलो सुन तस्करी तथा मोरङ उर्लाबारीका सनम शोक्यको हत्या प्रकरणका मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीका भाइ रमेश उप्रेती दुई लाख धरौटीमा रिहा भएका छन् । सुन तस्करी मुद्दाका मुख्य आरोपी गोरेका भाइ रमेश उप्रेती मोरङ जिल्ला अदालतबाट बिहीबार दुई लाख रुपैया धरौटीमा रिहा भएका हुन ।

सुन तस्करी मुद्दाका फरार आरोपी रमेश दुबईमा लुकेर बस्दै आएका थिए । अदालतले दाजु गोरेबाहेक अन्य सबैलाई सफाई दिएपछि उनी योजना मिलाएर नेपाल आएका थिए । नेपाल आएको थाहा पाएपछि प्रहरीले उनलाई २० पुसमा विमानस्थलबाटै पक्राउ गरेर मोरङ पठाएको थियो । मोरङ प्रहरीले उनलाई बुधबार अदालतमा हाजिर गराएको थियो । बिहिवार थुनछेक बयान सकिएपछि न्यायाधीश भरत लम्सालको ईजलासले उनलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

२७ मंसिरमा मुख्य लगानीकर्ता काले भनिने कृष्ण गोपाल अग्रवाललाई पनि अदालतले दुई लाख रुपैयाँ धरौटीमा छाडेको थियो । सुन तस्करी अभियोग मुद्दामा गोरेका भाइ रमेश र लगानीकर्ता अग्रवालबाहेक ५६ अभियुक्तले यसअघि नै सफाई पाइसकेका छन् । साढे तीन वर्षदेखी विचाधाराधीन उक्त्त मुद्दामा १९ असोजमा यायाधीश लम्सालको इजलासले उनीहरुलाई सफाई दिएको थियो ।

अभियोग लागेका ७७ जनामध्ये ६ जनालाई सनम शाक्य हत्या आरोपमा, मोरङ उर्लाबारी ७ का मुख्य अभियुक्त्त गोरेलाई मानव अपहरण कसुरमा थप १० बर्ष सजायसहित जन्मकैद तथा काभ्रेका टेकराज मल्ल ठकुरी, झापाका लाक्पा शेर्पा, मोरङका मोहन काफ्ले, मोरङकै कृष्ण भनिने नरेन्द्र कार्की र झापाका भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैद सजाय तोकिएको थियो ।

यसैगरी पुरानो मुलुकी ऐनको दफा १७ को उपदफा ३ अनुसार काठमाण्डौंका राजनकुमारलाई ३ वर्ष र मोरङका माधव भानिने मदन प्रसाद घिमिरेलाई ६ महिना सजाय भएको छ । सुनतस्करी मुद्दाका ७७ अभियुक्त्तमध्ये १८ जना अझै फरार छन् ।

आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अबैध कारोवार, मानव अपहरण शरिर बन्धक र कर्तब्य ज्यान अभियोगको उक्त्त मुद्दा पहिलो पटक १९ बैसाख २०७५ मा ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा दर्ता भएको थियो । त्यसपछि ३० बैसाख २०७५, २० असार २०७५ र ७ भदौ २०७५ मा थप अभियुक्त्तहरु विरुद्ध अभियोग दर्ता भएको थियो ।

संगठित सुनतस्करी आरोपका ९ जना प्रहरीहरु पुर्व डिआईजी गोबिन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, तात्कालिन एसएसपी दिवेश लोहनी, एसपी विकास राज खनाल, डिएसपी सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल तथा प्रहरी हवल्दारहरु बिष्णुबहादुर खडका र अम्बरबहादुर थापा सबैले आरोपबाट सफाई पाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७