बतास समूहविरुद्ध छानबिन गर्न सञ्जिप राईको संयोजकत्वमा युवा संघले बनायो समिति


२३ पुष २०७८, शुक्रबार
sanjib rai

काठमाडौं, २३ पुस । बतास ग्रुप लगायत अन्य विभिन्न व्यावसायिक समूहहरुले देशका विभिन्न ठाउँमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने गरेको प्रवृत्तिवरुद्ध दबाब दिन र अध्ययन गर्न नेकपा (एकीकृत समाजवादी)को युवा संगठन युवा संघले अध्ययन समिति बनाएको छ।

संघका प्रवक्ता एंव उपमहासचिव सञ्जिप राईको संयोजकत्वमा सार्वजनिक सम्पत्ति दुरुपयोग विरुद्धको युवा दबाब तथा अध्ययन समिति निर्माण गरेको अध्यक्ष नरेश शाहीले विज्ञप्ति जारी गरेर जानकारी गराएका छन्।

समितिमा रोशन थापा, फुर्वा लामा, दिपक दुवाडी, शिव श्रेष्ठ सदस्य रहेका छन्। सार्वजनिक सम्पत्ति दुरुपयोगविरुद्ध अभियान सञ्चालन गर्न युवा संघले मातहतका सबै कमिटीलाई निर्देशन पनि दिएको छ।

युवा संघले नारायणहिटी दरबार संग्रहालयको जग्गा तथा पशुपति क्षेत्र विकाश कोषको धर्मशाला बतास ग्रुपले व्यवसायिक प्रयोजनका लागि दुरुपयोग गरेको र यसका साथै देशका अन्य विभिन्न स्थानहरुमा पनि राज्यलाई प्रभावित पारी सार्वजनिक जग्गा दुरुपयोग गरी रहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘ऐतिहासिक स्थल नारायणहिटीलाई संरक्षण गर्नु हामी सबैको दायित्व हो। महत्वपूर्ण इतिहास बोकेको क्षेत्रमा एउटा व्यवसायिक समूहले होटल रेस्टुरेन्ट सन्चालन गर्ने कुरा कदापि स्वीकार्य हुन सक्दैन। मित्रराष्ट्र भारतले पशुपतिको दर्शनमा आउने तीर्थालु तथा धार्मिक पर्यटकको सुविधाको लागि निर्माण गरेको धर्मशाला व्यावसायिक प्रयोजनको लागी भाडामा दिने कुरा लज्जाको विषय हो,’ विज्ञप्तिमा भनिएको छ।

सार्वजनिक जग्गामा स्थायी संरचना निर्माण गर्न नमिल्ने अवस्थामा पनि नारायणहिटी र पशुपती क्षेत्रको धर्मशालामा स्थायी संरचना निर्माण गर्ने तथा नारायणहिटीका महत्वपुर्ण तथा दुर्लभ सम्पदाहरुको बिनास गरिएको युवा संघले भनेको छ।

संघले ऐतिहासिक एवम् धार्मिक सार्वजनिक स्थलहरु दुरुपयोग रोक्न नेपाल सरकारसंग माग पनि गरेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७