टिग्रेका ४० प्रतिशत नागरिक खाद्यान्नको ‘चरम अभाव’ मा : राष्ट्रसंघ


१५ माघ २०७८, शनिबार
tigray hunger t3rkowQqzp

काठमाडौं । इथियोपियाको टिग्रेमा झण्डै ४० प्रतिशत मानिसले युद्धको प्रभावका कारण खाद्यान्नको ‘अत्यधिक अभाव’ को सामना गर्नु परेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार बताएको छ ।

संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को खाद्य सुरक्षाको नयाँ मूल्याङ्कनको तथ्याङ्कमा १५ महिनाको द्वन्द्वपछि झण्डै ४० प्रतिशत मानिस चरम खाद्यान्नको अभाव भोगिरहेको पाइएको हो । इन्धन र आपूर्ति अभावले मानवीय सहायता समूहका गतिविधिहरूमा कटौती गर्न बाध्य हुँदै गएपछि र उत्तरी इथियोपियामा भएको ताजा झगडाले सहायता प्राप्त गर्ने बाटोलाई सीमित गर्दा त्यसको असर त्यहाँका सर्वसाधारणमा परेको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय समन्वय कार्यालयले भनेको छ, ‘यस क्षेत्रका सबै अन्तर्राष्ट्रिय सहायता समूहहरू पूर्णतया इन्धनको पहुँचभन्दा बाहिर छन् र खाद्य सङ्कटको सामना गरिरहेका नागरिकलाई पैदल सहायता पुर्‍याउने काम गरिएको छ ।’ डब्ल्यूएफपीले ८३ प्रतिशत टिग्रेली खाद्यान्न असुरक्षाको सिकार बनेको उल्लेख गरेको छ । ‘परिवारहरूले आफैलाई खुवाउने सबै तरिकाहरू बन्द भएका छन् । जनसंख्याको तीन चौथाइले बाँच्नका लागि अत्यधिक कठिन परिस्थितिसँग जुधिरहेका छन् ।’

‘खाद्य सामग्री उपलब्ध नहुँदा अनि परिवारहरू अन्नमा मात्र भर पर्दै गएपछि भोजनको मात्रा झनै कम हुँदै गइरहेको छ र कुनै पनि खानेकुरा उपलब्ध हुनका लागि तिनीहरूले दिनहुँ खाने भोजनको मात्रा सीमित हुन्छ ।’ विश्व खाद्य कार्यक्रमले छिमेकी अम्हारा र अफर क्षेत्रहरूमा बढ्दो भोकमरीबारे पनि सतर्क हुन भनेको छ । उक्त क्षेत्र पनि हालैका महिनामा लडाइँले निकै प्रभावित भएको छ ।

डब्ल्यूएफपीका पूर्वी अफ्रिकाका निर्देशक माइकल डनफोर्डले खानेकुरा र औषधि भएका हाम्रा गाडीहरू अग्रपङ्क्तिमा पुग्ने सुनिश्चित गर्न डब्ल्यूएफपीले सक्दो प्रयासहरू गरिरहेको बताए । सन् २०२० को नोभेम्बरमा टिग्रेमा युद्ध सुरु भयो र संयुक्त राष्ट्रसङ्घले महिनौंदेखि वास्तविक बन्देजको रूपमा वणर्न गरेको ६० लाख मानिसहरूलाई खाद्यान्न अभाव हुँदै गएको छ । वासिङटनले अबिय अहमद नेतृत्वको सरकारले सहायता रोकेको आरोप लगाएको छ भने अदिस अबाबाले विद्रोही आक्रमणलाई दोषी देखाएको छ । रासस/एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७