भन्सार छुटमा ७ लाख ३० हजारमा किनिएको गाडीको मर्मतमा १५ लाख खर्च, गाडी ग्यारेजमै

मर्मतको सात लाख ८० हजार अझै तिर्न बाँकी


२१ माघ २०७८, शुक्रबार
gadi

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सरकारी सुविधामा भन्सार छुट गराएर १६ वर्षअघि किनेको एउटा गाडीको रोचक कथा छ । तत्कालीन मूल भट्टका लागि भनेर किनिएको गाडी उनले चढ्न त के देख्नसमेत पाएनन् । सात लाख ३० हजार पाँच सय ७५ रुपैयाँमा किनिएको बा.५च २०९२ नम्बरको मारुती स्टिम गाडीको ‘फेक एक्सिडेन्ट’ बनाएर सात लाख ८० हजार भुक्तानी गरिएको छ । अझै ६ लाख ९० हजार तिर्न बाँकी रहेको भन्दै आठ वर्षदेखि गाडी ज्ञानेश्वरस्थित पपुलर वर्कसपमा थन्क्याइएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले ‘फेक दुर्घटना’ भन्दै प्रतिवेदन तयार गरेको यो गाडीको खास कथा ३० जेठ ०६२ बाट सुरु हुन्छ । यही दिन कोषले पशुपतिका मूल भट्टका लागि भन्दै भन्सार छुटमार्फत सात लाख ३० हजार पाँच सय ७५ रुपैयाँमा गाडी खरिद गरेको थियो, तर मूल भट्टले चढ्न पाएनन् ।

कोषका तत्कालीन सदस्यसचिव वसन्त चौधरीले चढे । चौधरीपछिका सदस्य सचिव सुशील नहाटाले प्रयोग गरिरहेका वेला १६ फागुन ०६७ मा गाडी दुर्घटनामा पर्‍यो । शिवरात्रि पर्व मेला व्यवस्थापनमा खटिएका कर्मचारीलाई घर पुर्‍याउने क्रममा राति भक्तपुरको मनोहरा पुल नजिक बा.२ख २०१ नम्बरको मिनीट्रकले ठक्कर दिँदा गाडी दुर्घटनाग्रस्त भएको थियो ।

त्यतिवेला नहाटा भने गाडीमा थिएनन् । कोषले सञ्चालक परिषद्मा पेस गरेको विवरणअनुसार गाडी कृष्णबहादुर डंगोलले चलाएको र प्रशासकीय अधिकृतहरू मुकुन्दप्रसाद पाण्डे, गौरीशंकर पराजुली र मुख्य लेखा अधिकृत प्रेमहरि ढुंगानालाई कौशलटार पुर्‍याउन जाँदा मनोहरा पुल नजिक मिनीट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनापछि गाडी मर्मतको नाममा आर्थिक चलखेल सुरु भयो । मर्मत गर्न आधिकारिक डिलरमा लैजाँदा आठ लाख ३४ हजार लागत अनुमान गरिएकोमा सदस्यसचिव नहाटाको आदेशमा १२ लाख २५ हजार ६ सय ७२ रुपैयाँ स्टिमेट गरी ज्ञानेश्वरको पपुलर अटो वर्कसप पठाइयो । पहिलो त गाडी मर्मतका लागि आधिकारिक डिलरमै लैजानुपर्थ्यो, विकल्पमा निजी वर्कसपमा लगे पनि प्रक्रिया पूरा गर्नुपथ्र्यो । अटो प्राविधिकमार्फत अनुमानित खर्च निकाल्न लगाएर प्रतिस्पर्धाबाट मर्मत प्रक्रियामा लैजानुपथ्र्यो । तर, नहाटाले तजबिजमा धेरै खर्च स्टिमेट गरेर चिनजानकै वर्कसपमा पठाए ।

चिनजानकै भाइको वर्कसपमा गाडी पठाएको नहाटा स्विकार्छन् । तर, डिलरले शतप्रतिशत अग्रिम भुक्तानी मागेपछि यो विकल्प रोजेको उनको दाबी छ । ‘डिलरले शतप्रतिशत अग्रिम भुक्तानी खोज्यो । तर, कोषले अग्रिम भुक्तानी दिन सक्दैन, काम गर्दै जाँदा भुक्तानी हुन्छ भन्यो,’ नहाटा भन्छन्, ‘डिलरमा कुरा नमिलेपछि गाडी एक वर्षसम्म त्यसै थन्कियो । गाडी नै नबन्ने, बरु पाटपुर्जा चोरिन थालेपछि मैले चिनेको भाइको वर्कसपमा पठाएको हुँ ।’

वर्कसपमा पठाइएको गाडी साढे दुई वर्षसम्म फर्कियो/फर्किएन कोषसँग नै अभिलेख छैन । आफ्नो कार्यकालभर मर्मत नसकिएकाले गाडी पशुपति नआएको नहाटा नै बताउँछन् । वर्कसपलाई सात लाख ८० हजार रुपैयाँ भने उनकै कार्यकालमा भुक्तानी भएको छ । सदस्यसचिवले कोषको सञ्चालक परिषद्मा पेस गरेको प्रतिवेदनअनुसार कार्यालय सहायक कुमार खतिवडामार्फत वर्कसपलाई १८ पुस ०६९ मा तीन लाख तथा ५ जेठ ०७० मा चार लाख ८० हजार भुक्तानी भएको देखिन्छ । नहाटाको कार्यकाल ०७० असारमा सकियो ।

त्यही गाडी १७ भदौ ०७० मा कोषका कोषाध्यक्षलाई निवासबाट कार्यालय ल्याउने क्रममा जयबागेश्वरी निस्किने जंगलमा पुनः दुर्घटनामा परेको भन्दै मर्मतका लागि फेरि पपुलर वर्कसपमै लगिएको कोषको दस्ताबेजबाट देखिन्छ । यतिवेला कोषमा डा. गोविन्द टण्डन सदस्यसचिव र कोषाध्यक्ष तारानाथ सुवेदी थिए ।

‘कोषाध्यक्षलाई निवासबाट कार्यालय ल्याउने क्रममा सिफलबाट जयबागेश्वरी निस्कने जंगलको बीच बाटोमा अकस्मात् मोटरसाइकल आई मेरो अगाडि बायाँ साइडमा ठोक्किन गई दुर्घटना भएको’ भनेर चालक गणेशप्रसाद दाहालले १७ भदौ ०७० मा कोषको कार्यालयमा निवेदन पेस गरेको विवरणमा उल्लेख छ ।

तर, गाडीसँग ठोकिएको भनिएको मोटरसाइकल नम्बर भने उल्लेख छैन । विवरणमा दुर्घटना भएकै दिन गाडी मर्मत गरेर पशुपति ल्याएको पनि भनिएको छ । तर, दुर्घटना भएको भनिएको डेढ महिनापछि ३१ असोजमा मात्रै सदस्यसचिव टण्डनले कोषका निर्देशकलाई ‘… गाडीको क्षति पुगेको भागको मर्मत गराउने सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाउन’ भनेर लिखित निर्देशन दिएको देखिन्छ । जब कि गाडीको बिमा दाबीका लागि हिमालयन इन्टरप्राइजेज प्रालिबाट २३ असोजमै ‘गाडी दुरुस्त भएको सिफारिस’ भएको कोषकै रेकर्डमा छ । यसमा छानबिन गरेको राष्ट्रिय सतर्कता केन्द्रले दुर्घटना नै ‘फेक’ हुन सक्ने बताएको छ ।

दुर्घटना भएको भनिएका वेला गाडीमा यात्रारत कोषाध्यक्ष सुवेदीले मोटरसाइकलले थोरै मात्र सिसामा छोएको बताए । ‘गाडी दुर्घटनामा परेको होइन, मोटरसाइकलले सामान्य सिसामा छोएको मात्रै हो । त्यसपछि वर्कसपमा लगेको हो/होइन मलाई थाहा छैन,’ उनले भने, ‘त्यो गाडी मैले तीन-चार दिन मात्रै चढेको हो ।’

मोटरसाइकलसँग छोइएकै आधारमा ‘दुर्घटना’ भनेर वर्कसपमा पुर्‍याइएको गाडी त्यही दिन फर्काइएको सञ्चालक परिषद्मा पेस भएको प्रतिवेदनमा उल्लेख छ । तर, सुवेदीले भने त्यसपछि सो गाडी आफूले नचढेको बताए । ‘दुरुस्त भएको’ भनिएको गाडी आजका मितिसम्म पपुलर वर्कसपमै थन्क्याइएको छ । तत्कालीन कोषाध्यक्ष सुवेदीले भने, ‘त्यतिखेर ६ वटा गाडी एकैपटक किनियो । मैले त हुँदैन भनेको हो । तर, सदस्यसचिव, कोषाध्यक्षसहितका पदाधिकारीलाई गाडी किन्ने भनेपछि कोषसँग भएको गाडी चाहिँ बहाना बनाएर वर्कसपमा थन्क्याइएको हो ।’

तत्कालीन सदस्यसचिव गोविन्द टण्डनले २४ असोज ०७० मा कोष सञ्चालक समितिको ११६औँ बैठकमा गाडीको विषय प्रवेश गराएका थिए । जसअनुसार तिहारअघि नै रकम भुक्तानी गरेर गाडी फिर्ता ल्याउने निणर्य भएको थियो, तर अहिलेसम्म गाडी ल्याएको छैन । जब कि ०७१ मंसिरमै कोषले शिखर इन्स्योरेन्सबाट आठ लाख ९५ हजार नौ सय रुपैयाँ दुर्घटना बिमा रकम समेत बुझिसकेको छ ।

‘गाडी मर्मत गरेर वर्कसपले नै चलाइरहेको थियो । तर, कोषमा गाडी ल्याउन केही कानुनी अड्चन थिए । इन्स्योरेन्स क्लेम गर्न सरकारी सिफारिस चाहिने रहेछ । दुर्घटना हुँदा गाडीको अवस्था के थियो, मर्मत गर्दा के-के पाटपुर्जा राखियो, यो विषय पहिले जानकारी नदिइएकाले हामी सिफारिस गर्न सक्दैनौँ भनियो । पछि सुजुकीको आधिकारिक विक्रेताबाट गाडी दुरुस्त भएको सिफारिस बनाइयो,’ टण्डनले भने, ‘गाडी फिर्ता ल्याउने निणर्य गरे पनि कोषमै तालमेल मिलेन । नयाँ गाडी चढ्न खोज्ने, पुरानाको मतलब नगर्ने प्रवृत्ति रहेछ ।’

कोषले रकम भुक्तानी गरेर गाडी ल्याउने निणर्य गरेपछि वर्कसपले एकैपटक १६ लाख एक हजार तीन सय ३५ रुपैयाँको बिल पठायो । एकै दिनका दुई-तीनवटासमेत गरी २६ वटा बिलमा उक्त रकम उल्लेख थियो । कोषले १ फागुन ०७३ वर्कसपसँग मर्मत प्रतिवेदन नै माग गर्‍यो ।
२५ वैशाख ०७४ मा वर्कसपले मर्मत खर्च घटाएर १४ लाख ९० हजार आठ सय ५९ रुपैयाँको बिल पठायो । त्यसमध्ये सात लाख ८० हजारको हिसाब फरफारक भइसकेकाले बाँकी रकम पाउनुपर्ने माग गर्‍यो । तर, कोषले आफ्नो मर्मत स्टिमेट १२ लाख २५ हजारअनुसार चार लाख ४५ हजार भुक्तानी मात्र बाँकी रहेको दाबी गर्दै आएको छ ।

पपुलर वर्कसपका सञ्चालक विकास प्रधान भने सुरुमा मर्मत गरेर दिएको गाडी पछि पटक-पटक केही न केही बिग्रियो भनेर कोषबाट पठाइएको बताउँछन् । ‘मर्मतपछि गाडी पशुपति गएको हो । तर, कहिले टायर पन्चर भयो, कहिले के भयो भनेर गाडी वर्कसपमै ल्याइयो । तर, पैसा भुक्तानी भएन, गाडी पनि लगेनन्,’ प्रधानले भने, ‘गाडी मर्मत गर्दै जाँदा कोषले सुरुमा गरेको स्टिमेट नाघेको हो । उहाँहरूलाई सोधेरै मर्मत गरेका हौँ । तर, किन हो पैसा दिनु भएन ।’

गाडी मर्मतका नाममा मनोमानी ढंगबाट रकम तोकेर मिलेमतोमा कोषलाई क्षति पुर्‍याएको सतर्कता केन्द्रको पनि ठहर छ । ‘यसमा लागत अनुमान तथा के, कुन प्रक्रियाबाट मर्मत गर्ने कुरा स्पष्ट नभई मनोमानी ढंगबाट रकम तोकिएको पाइन्छ, जुन नियम संगत होइन, त्यसैले मिलेमतो छैन भन्न सकिएन,’ सतर्कताले पशुपति क्षेत्र विकास कोषलाई भनेको छ, ‘अनुमानका भरमा वर्कसपबाट पठाइएको बिलका आधारमा भुक्तानी गर्ने, सवारीसाधन फिर्ता ल्याउन पहल नगर्ने पदाधिकारीलाई कारबाही हुनुपर्दछ ।’

कोषका वर्तमान कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले वर्कसपबाट गाडी ल्याउने तयारी भइरहेको बताए । ‘गाडी ल्याउने तयारी भइरहेको छ, केही रकम भुक्तानी गर्नुपर्ने देखिन्छ,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७