सुदूरपश्चिममा १६ लाखले लगाए कोरोनाविरुद्धको खोप


२१ माघ २०७८, शुक्रबार
korona khop
फाइल फोटो

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा हालसम्म १६ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौवटै जिल्लामा हालसम्म १६ लाख ६ हजार ६७३ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा लगाएका छन् । खोपको पूर्ण मात्रा भने ११ लाख चार हजार ९४६ जनाले लगाएका छन् ।

प्रदेशमा सबैभन्दा बढी कैलालीमा चार लाख ७२ हजार ९७४ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने तीन लाख ५५ हजार ७२० जनाले पूर्ण मात्रा लगाएका छन् । यस्तै सबैभन्दा कम डडेल्धुरामा ६५ हजार ६०७ जनाले पहिलो तथा ५९ हजार ५५७ जनाले खोपको पूर्ण मात्रा लगाएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै कञ्चनपुरमा तीन लाख ४२ हजार ६५१ जनाले पहिलो र दुई लाख ४४ हजार २५१ जनाले पूणर् मात्रा, बैतडीमा एक लाख ५२ हजार ६२९ जनाले पहिलो र ९४ हजार १८३ जनाले पूर्ण, अछाममा एक लाख ३७ हजार ४५२ जनाले पहिलो र ९१ हजार २१ जनाले पूर्ण, बाजुरामा एक लाख २४ हजार ९२५ जनाले पहिलो र ७४ हजार ३४५ जनाले पूर्ण, डोटीमा एक लाख २० हजार ५७२ जनाले पहिलो र ६५ हजार ५७५ जनाले पूर्ण , बझाङमा ९९ हजार ८४४ जनाले पहिलो र ५६ हजार ३८ जनाले पूर्ण तथा दार्चुलामा ९० हजार १९ जनाले पहिलो र ६२ हजार २५६ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

सुदूरपश्चिममा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, जोनसन, भेरोसेल र फाइजर खोप लगाइएको छ । बाह्र वर्षभन्दा माथिका व्यक्तिलाई खोप दिइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रदेशका सबै जिल्लामा हाल खोप अभियान जारी छ ।

यसअघि छुटेका सबैलाई खोप लगाउन अनुरोध गरिएको जोशीले बताए । सुदूरपश्चिममा हालसम्म चार लाख ८२ हजार ४१७ जनाको कोरोना परीक्षण गरिएकामा ५८ हजार ४५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोनाबाट प्रदेशमा ६२५ जनाको ज्यान गइसकेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७