एकै दिन विभिन्न जिल्लामा भएका दुर्घटनामा १६ को मृत्यु


२३ माघ २०७८, आईतवार
accident 20220205022017

काठमाडौं । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा शनिबार १६ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्युठान, सुनसरी, सिराहा, रुपन्देही, स्याङ्जा र धादिङमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।

प्युठानको गौमुखी गाउँपालिका- ६ ओखरपाटामा विवाहको दुलही लिएर फर्कँदै गरेको ग.१ज ५०९२ नम्बरको जीप सडकबाट एक सय ५० मिटर तल खसेर भएको दुर्घटनामा आठजनाको मृत्यु भएको छ । प्युठानको नौबहिनी- ६ लुङबाट गौमुखी गाउँपालिका- ६ लिबाङतर्फ जन्ती लिएर जाँदै गरेको जिप दुर्घटना परेको हो ।

तीमध्ये घटनास्थलमा ६ र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । दुर्घटनामा बेहुला र बेहुलीसहित पाँच जना घाइते भएका छन् । सडकदेखि करिब एक सय ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । साँघुरो सडक र हुस्सुको कारण दुर्घटना हुन पुगेको प्रहरीको निष्कर्ष रहेको छ । जीप गाउँको ओखरपाटामा चिप्लिएर दुर्घटनामा परेको घाइतेहरूले बताएका छन् ।

दुर्घटनमा परी गौमुखी गाउँपालिका- ६ का एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ वर्षीय वसन्त खड्का, ३९ वर्षीया वसन्ता खड्का र ११ वर्षीय एलिसा खड्का छन् । त्यस्तै, सोही ठाउँकी २९ वर्षीया केशरी खड्का, गाडीचालक ५२ वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका- ६ की २० वर्षीया विपना जिसी रहेका छन् । मृतकमध्ये वसन्त र एलिसाको उपचारका क्रममा मृत्यु भएको हो भने अन्य ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते पाँच जनामध्ये बेहुली नौबहिनी गाउँपालिका- ६ किमिचौरकी २० वर्षीया रिमा जिसी, बेहुला गौमुखी- ६ लिबाङका २५ वर्षीय दानबहादुर खड्का, सोही ठाउँका १७ वर्षीय नरेश खड्का, २१ वर्षीय हरि बुढामगर र नौबहिनी- ६ की २५ वर्षीय सावित्रा जिसी रहेका छन् । घाइतेहरूको उपचार भइरहेको छ ।

बेहुली नौबहिनी गाउँपालिका- ६ किमिचौरकी २० वर्षीया रिमा जिसीको अवस्था गम्भीर रहेको छ । बेहुला दानबहादुर खड्काको अवस्था भने गम्भीर छैन । किमिचौरकै २५ वर्षीया सावित्रा जिसी, २१ वर्षीय हरि बुढामगर र लिबाङका १७ वर्षीय नरेश खड्काको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

गाउँमा बेहुलीको स्वागतको तयारी भइरहेका वेला दुर्घटनाको खबर पाएको वडाध्यक्ष लालबहादुर खत्रीले बताए । ‘गाउँका सबैजना दुलहीको स्वागत गर्न तयारी अवस्थामा थिए,’ गौमुखी गाउँपालिका- ६ का वडाध्यक्ष खत्रीले भने, ‘तर, नयाँ दुलही भित्र्याउने सपना पूरा हुन सकेन ।’

दुलही ल्याएर जन्ती घरनजिकै पुग्दै थिए । वडाध्यक्ष खत्रीका अनुसार घर पुग्न एक किलोमिटर दूरी पार गर्न बाँकी थियो । त्यही क्रममा गाडी दुर्घटनामा परेको हो । वडाध्यक्ष खत्रीका अनुसार प्युठानको झिम्रुक घाटमा शनिबार राति मृतकको दाहसंस्कार गरिएको हो । सडक दुर्घटनामा परी ज्यान गुमाएका पालिकावासीको शोकमा गाउँपालिकाले आइतबार पालिकाभर सार्वजनिक बिदा दिएको छ ।

यता सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका- ३ खुनिया पुलस्थित सडकमा ना.८ख ८४९३ नम्बरको बस र ना.२ख २९९६ नम्बरको ट्रक शुक्रबार राति एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनापश्चात् आगलागी भएको र त्यसमा परेर उनीहरूको मुत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २७ जनाको सुनसरी र विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, सिराहा, गोलबजार नगरपालिका- ४ स्थित सडकमा ना.१ज ५९१२ नम्बरको गाडीको ठक्करबाट मिर्चैया नगरपालिका- ६ बस्ने ४५ वर्षीय ब्रह्मदेव ठाकुरको मृत्यु भएको छ । रुपन्देही, तिलोत्तमा नगरपालिका- ९ स्थित सडकमा लु.३७प ६३५१ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरचालक सोही नगरपालिका- १५ कोटिहवा बस्ने २४ वर्षीय सुशान्त बस्यालको मृत्यु भएको छ ।

स्याङ्जा, विरुवा गाउँपालिका-३ धोवादीस्थित भित्री सडकमा ग.१ज ५९३९ नम्बरको जीप सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेर शनिबार दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाइएको छ । धादिङको धुनिबेंसी नगरपालिका- १ बन्चरेस्थित सडकमा प्र३-०१-००३ क ७२५५ नम्बरको जेसिबी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल खोल्सामा खसेर भएको दुर्घटनामा पहिचान नखुलेका एक व्यक्तिको मृत्यु भएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७