खारेज भएको आठ महिनापछि सडक डिभिजन ललितपुर पुनर्स्थापना


२५ माघ २०७८, मंगलवार
sadak division lalitpur RH8yPcGJk6

ललितपुर । सडक डिभिजन कार्यालय ललितपुर खारेज भएको झण्डै ८ महिनापछि पुनर्स्थापना भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सोमबार हरिहर भवनस्थित कार्यालय पुगेर यसको उद्घाटन गरेकी हुन् ।

कार्यालय विगत रहेकै ठाउँमा छ भने यहाँको कर्मचारी गत आवभन्दा केही घटेको छ । अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत जेठमा डिभिजन खारेज गरेको डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले बताए । डिभिजन खारेजी गर्ने सरकारको निणर्यपछि जिल्लाका राजनीतिक दलहरुले यसको पुनर्स्थापना माग गरिरहेका थिए । सडक विभागले पनि त्यतिबेला नै डिभिजन खारेजी नचाहेको उनले बताए ।

उनले भने, ‘यहाँ डिभिजन चाहिन्छ भनेर राजनीतिक नेतृत्वले आवाज उठाएकै कारण अघिल्लो महिना पुनर्स्थापना भएको थियो ।’ डिभिजनको कार्यालय पहिले भएकै स्थानमा रहेको छ भने यहाँको दरबन्दी विगतमा कायम दरबन्दीभन्दा ६ जना कम भएको छ । डिभिजनमा पहिले ३२ जनाको दरबन्दी रहेकामा अहिले प्रशासन, केही कार्यालय सहायक र सवारी चालक घटेर अहिले २६ जना कायम भएको छ ।

सडक विभागले पनि विगतदेखि नै ललितपुरमा डिभिजन कार्यालय हुनुपर्छ भन्ने चाहेको प्रमुख अधिकारीले बताए । सडक निर्माण र मर्मतको काम नजिकैबाट अनुगमन गर्न डिभिजन आवश्यक भएको उनले बताए । उनले भने, ‘अनुगमन टाढाबाट गर्दा गुणस्तर कायम गर्न गाह्रो हुन्छ ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७