आलोचनाहरुलाई सकारात्मक रूपमा लिएको छु : सभामुख सापकोटा


२७ माघ २०७८, बिहीबार
agni aQqQCTMO39

काभ्रेपलाञ्चोक । सभामुख अग्निप्रसाद सापकोटाले नेपाली जनतामा उच्चस्तरको लोकतान्त्रिक आचारण र चरित्र भएकाले कसैलाई पनि अति गर्नतर्फ लैजान नदिने बताएका छन् ।

राष्ट्रिय सभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच अनुभव आदानप्रदान गर्न आज बिहीवार धुलिखेलमा आयोजित कार्यक्रममा उनले जनताले अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबाट भइरहेको काम कारबाहीलाई नजिकबाट हेरिरहेको उल्लेख गरे ।
सभामुख सापकोटाले भने, ‘संसद्लाई जीवन्त र जनमुखी बनाउन वातावरण बनाउने काम भइरहेको छ, संसद्काबारे धेरै प्रश्न उठेको छ, मेरो पहलकदमी कहाँ पुगेको छैन, कहाँ बढाउनु पर्छ भन्नेतर्फ काम गरिरहेको छु, सभामुखको नेतृत्वमा सबै सांसदले स्वतन्त्र भएर निणर्य गर्न पाउँछन् त भन्ने प्रश्न छ, आलोचना र आएका सुझावलाई सकारात्मक रूपमा लिएको छु ।’

अहिले भइरहेका बहसले हामीलाई देशहितका लागि निष्कर्षमा पुर्‍याउने उल्लेख गर्दै उनले भने, ‘इतिहास राम्रो अध्ययन गरेका जनता नै सर्वोपरि हुन् । देशभक्त भावनाले ओतप्रोत जनताले ठिक निणर्य गर्नेछन्, तटस्थ, निष्पक्ष र स्वतन्त्र हुनुमा मेरो पनि ठूलो तागत छ ।’
देशले एकपछि अर्को गर्दै महामारी, राजनीतिक र जलवायु संकट भोग्नुपरेको उल्लेख गर्दै सभामुख सापकोटाले सकारात्मक सोच विचारले मात्रै राम्रा नतिजा हासिल गर्ने भएकाले संसद्ले मुख्य कार्यभार कानुन निर्माणमै जोड दिनुपर्ने बताए ।

उनले भने, ‘विश्व समुदाय जस्तै नेपालमा पनि नयाँ राष्ट्रिय दृष्टिकोण बनाउनु पर्छ, मातृभूमिप्रति इमानदार र निष्ठामा रही बढाइने सोच र विचारले देश र जनताको हित हुनेछ ।’ सभामुख र उपसभामुखलाई सबैसँगको छलफल र अन्तरघुलनबाट सभा सञ्चालन गर्न सहज तुल्याउने बताउँदै सभामुख सापकोटाले सबै उपसभामुखमा नयाँ र चुनौतीपूणर् जिम्मेवारीले आत्मविश्वास बढाएको उल्लेख गरे ।

लोकतन्त्र प्रवचन दिने विषय नभइ आत्मसात् र व्यवहारमा लागू गर्ने विषय भएको जनाउँदै उनले संसदमा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने थलो भए पनि विविध कारणले योग्यता र क्षमताको गतिलो अभ्यास गर्न नसकिरहेको उल्लेख गरे । कार्यक्रममा राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालले पछिल्लो दुई वर्षमा कोभिड-१९ महामारीका कारण अन्य क्षेत्र जस्तै संसद् पनि प्रभावित भएका कारण कानुन निर्माण तथा संसदीय अभ्यासका काम सोचेअनुसार गर्न नसकिएको बताइन् । उनले पर्याप्त बैठक तथा छलफल हुन नपाउँदा सदनमा आएका विधेयक तथा जनसरोकारका अन्य विषय प्रभावित हुन पुगेका तथा नियमित संसद् बैठक सञ्चालन नहुँदा सिकाइका विविध पक्ष छुटेको उल्लेख गरिन् ।

उपाध्यक्ष दाहालले भनिन्, ‘ऐन, कानुन निर्माणदेखि सदन सञ्चालनसम्मका संसदीय गतिविधिमा सबै सांसदको भूमिका बराबरी रहन्छ । तर महिला पदाधिकारी तथा सांसदले यी अभ्यासमा अपवाद बाहेक आफू ओझेलमा परेको अनुभव गर्नु भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७