सर्वोच्चका कामु प्रधानन्यायाधीशले बोलाए ‘फुलकोर्ट’


२ फाल्गुन २०७८, सोमबार
sarbochha

काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको पूर्ण (फुलकोर्ट) बैठक बोलाएका छन् । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भई निलम्बनमा परेपछि सर्वोच्च अदालत सञ्चालनका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।

कामु प्रधानन्यायाधीश कार्कीले सोमबार अपराह्न २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका छन् । उक्त बैठकमा अदालतका सम्बन्धमा विकसित पछिल्लो घटनाक्रम र अदालत सञ्चालन तथा न्यायपालिका सुधारका सम्बन्धमा छलफल हुने बताइएको छ । न्यायपालिका सुधारका लागि भन्दै न्यायाधीश हरिकृष्ण कार्की सम्मिलित समितिले दिएको प्रतिवेदन पूर्णतः कार्यान्वयन गर्ने र सर्वोच्च अदालतकै न्यायाधीश तथा नेपाल बार एसोसिएसनले उठाएको मागको सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लागे पनि उनको पूर्ण बहिर्गमन नभएसम्म नेपाल बार एशोसिएसनले आन्दोलन जारी राख्ने बताइसकेको छ । यद्यपि नेपाल बार एशोसिएसनले अदालतको काम कारबाहीमा वाधा नपुग्ने गरी आन्दोलन गर्ने बताएको थियो ।

बारले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई लिखितरुपमा पत्र लेख्दै मध्यान्ह १२ बजेसम्म इजलास नराख्न आग्रह गरेका थिए । सोही आग्रह बमोजिम नेपाल बार एशोसिएसनको अगुवाइमा १२ बजेसम्म सर्वोच्च अदालतभित्रै आन्दोलन हुँदै आएको छ भने सर्वोच्चमा १२ बजेपछि मात्रै इजलास बस्ने गरेको छ । सोमबारका लागि पनि १२ बजे नै इजलास बस्ने सर्वोच्च अदालतले जनाएको छ । यद्यपि नेपाल बार एशोसिएसनसँग छलफल गरी अब बिहान ११ बजेदेखि नै इजलास राख्ने तयारी भइरहेको एक न्यायाधीशले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७