३०२ नेपाली सुरक्षित रुपमा युक्रेनबाट बाहिरिए


१८ फाल्गुन २०७८, बुधबार
ukrain1646192334

काठमाडौं । युद्धग्रस्त युक्रेनमा रहेका ३०२ जना नेपाली सुरक्षित गन्तव्यतिर लागेका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले युक्रेनमा रहेका नेपाली सुरक्षित स्थानको खोजीमा पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिएका छन् ।

रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार मंगलबारसम्म २३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका छन् ।

रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी किएभमा रहेका सबै नेपालीले युक्रेन छोडेको जानकारी दिए । घिमिरेका अनुसार रुसमा रहेका नेपाली विद्यार्थी चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन थालेका छन् । पश्चिमी मुलुकले रुससँगको हवाई उडानमा प्रतिबन्ध लगाएका कारणले रुसमा बस्ने नेपाली संशकित बनेका हुन् ।

उनले पश्चिमी मुलुकहरुले रुससँगको हवाई उडानमा प्रतिवन्ध लगाएका कारणले रुसमा बस्ने नेपालीहरुमा समेत संशय थपिएको बताए । एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद शिवाकोटीले नेपालीहरुलाई खाना बस्ने र परिचयपत्र लगायत बन्दोबस्तको व्यवस्था मिलाइएको जानकारी दिए ।

उनले अलपत्र परेर त्यहाँ पुगेका नेपालीहरुले आफ्नो सञ्जाल बनाएर एक अर्कालाई सहयोग गरेको बताए । बैठकमा युक्रेनको युद्धबाट चार दिन हिंडेर बाँचेका दाङका बिक्रम खड्काले युद्धमा परेका बेला सामना गरेको कठिनाइ सुनाएका थिए । उनले युक्रेनदेखि हङ्गेरी पुग्दा बाटोमा बम पड्केको र ठूल्ठूलो आवाज सुनेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७