माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश इञ्चार्ज भट्टको अधिकार खोस्यो

अब निर्वाचन प्रयोजनमा भट्टको हस्ताक्षर ‘नचल्ने’


१७ बैशाख २०७९, शनिबार
bhatta

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश इञ्चार्ज खगराज भट्टको अधिकार खोसेको छ । अब निर्वाचन प्रयोजनका लागि उनको हस्ताक्षर ‘नचल्ने’ भएको छ । ‘जथाभाबी’ निणर्य गर्न थालेपछि उनको अधिकार केन्द्रले खोसेको पार्टी स्रोतले जनाएको छ ।

अब प्रदेश समितिका अध्यक्ष हरिराम चौधरीको हस्ताक्षर नै आधिकारिक हुने भनेर पार्टी केन्द्रले निर्वाचन अधिकृतको कार्यालयहरूलाई पत्राचार गरिसकेको छ । सो कुरालाई केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले पनि पुष्टि गरे । भट्टले मुख्य गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा प्रदेश समितिलाई हस्तक्षेप गरेर मेयरको टिकट दिएपछि विवाद बढेको हो ।

नगर कमिटीबाट पहिलो नम्बरमा सिफारिस भएर आएका लोकबहादुर ऐरलाई जिल्ला कमिटीले पनि सदर गरेर पठाउँदा प्रदेश समितिले उनैलाई उम्मेदवार बनाउने निणर्य गरेको थियो । तर भट्टले हस्तक्षेप गरेर नवराज ऐरलाई उम्मेदवार बनाउनु पर्ने अडान राखे । सोहीअनुसार आफै पहल गरेर नवराजलाई उम्मेदवार बनाई छाडे । जसमा उनले आफ्नो हस्ताक्षरको अधिकार प्रयोग गरेका थिए ।

त्यसपछि असन्तुष्ट बनेका लोकबहादुरले पनि उम्मेदवारी दर्ता गरे । यसरी माओवादी केन्द्रबाटै दुई उम्मेदवार भएपछि प्रदेश इञ्चार्ज भट्टले निर्वाचन अधिकृतको कार्यालयबाट नवराजलाई आधिकारिक उम्मेदवार घोषणा गराइछाडे ।
यही विवादका कारण माओवादी केन्द्रको केन्द्रीय कार्यालयबाट लोकबहादुरको उम्मेदवारी फिर्ता लिन लगाएर भट्टसँग हस्ताक्षरको अधिकार छिनेको स्रोतले बतायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७