माओवादीका बागी उम्मेद्वारसहित १५ जना पार्टीबाट निष्काशित


२७ बैशाख २०७९, मंगलवार
maobadi

सिरहा । सिराहामा माओवादी केन्द्रले बागी उम्मेदवार र समर्थकसहित १५ जनालाई कारबाही गरेको छ । कर्जन्हा नगरपालिकाको प्रमुख पदमा बागी उम्मेदवारी दिएका युगेश्वरप्रसाद राउतसहित १५ जनालाई सो पार्टीले कारबाही गरेको हो ।

माओवादी केन्द्र मधेस प्रदेश इञ्चार्ज गणेश साहले पार्टीको उम्मेदवारविरुद्ध बागी बनेकालाई कारबाही गरिएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । जिल्ला समन्वय समिति सिराहाका प्रमुख (सभापति) रामचन्द्र ठाकुर, रामअवतार राई, शक्ति लामा, दिलीप नायक, रामनरेश राउत, जयराम साह, रामभरोस यादव, ओमप्रकाश महतो, केदार कोइराला, शुभनारायण महतो, चन्द्रदीप महतो, ललिता लामा, भरत महतो र श्याम लामालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

माओवादी केन्द्रले तय गरेको उम्मेदवारविरुद्ध पार्टी निणर्यविपरीत बागी उम्मेदवारी दिने तथा उनीहरूलाई सहयोग गरी प्रतिगमनकारी शक्तिलाई सहयोग पुग्ने कार्य गरेको भनी सिराहाबाट कारबाहीका लागि सिफारिस भई आएकाले सोहीबमोजिम कारबाही भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि सिराहाको गोलबजार नगरपालिकामा बागी उम्मेदवार बनेकालाई पनि माओवादी केन्द्र मधेस प्रदेशले कारबाही गरिसकेको छ । गोलबजार नगरपालिका मेयरका उम्मेदवार रामचन्द्र महतो, उपमेयरकी उम्मेदवार बास्ना मोक्तान, वडा नम्बर ६ का अध्यक्षका उम्मेदवार कमल स्याङ्वो, प्रदेश सदस्य प्रवेश लामासहित ६ जनालाई कारबाही गरिएको छ ।

bagi

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७