मन्त्रीबाट हट्दा पनि हाँसेरै बिदा हुन्छु : मन्त्री चौधरी


३ श्रावण २०७९, मंगलवार
Metmani
फाइल फोटो

काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने बताएका छन् । आज (मंगलबार) संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्योभन्दा अझ बढी हाँसेर जाने बताए ।

बैठकमा सांसदहरुले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदाइ हुँदा रोएकोतर्फ संकेत गर्दै मन्त्री चौधरीलाई हाँसेरै जान शुभकामना दिएका थिए । त्यसको जवाफ दिने क्रममा उनले जाने बेलामा आफू अझ बढी हाँसेर जाने बताएका हुन् ।
चौधरीले मन्त्रीका रूपमा आफू सधैं नरहने कुरा प्रस्ट्याउँदै पदमा रहुञ्जेल सांसदहरूले दिएको सुझावलाई ग्रहण गरेर अघि बढने प्रतिबद्धता समेत व्यक्त गरे ।

‘माननीयजीहरूले शुभकामना दिने बेलामा धेरै महत्त्वपूणर् सुझाव दिनु भएको छ । आउँदा खुशी भएर आउने, जाने बेला रुने कुरा पनि भन्नु भएको छ । मलाई क्लियर के छ भने मन्त्री हुने कुरा रेगुलर प्रोसेसको कुरा हो । म सधैंभरि रहन्नँ । जसरी हाँसेर आएको छु, जाँदाखेरी योभन्दा बढी हाँसेर जान्छु,’ उनले भने ।

मन्त्री चौधरीले सरकारले एक हप्ताभित्र ‘सहरी विकाससम्बन्धी नीति’ सार्वजनिक गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । विगत १५ वर्षदेखि ल्याउने भनिएको सो नीति अन्तिम चरणमा पुगेको र त्यसलाई अब सार्वजनिक गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७