मुस्ताङमा भेटिएको बम गरियो डिस्पोज


२१ श्रावण २०७९, शनिबार
dispoj

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ तेताङको प्याङ लेकमा भेटिएको बम डिस्पोज गरिएको छ । बुधबार इलाका प्रहरी कार्यालय छुसाङको प्रहरी टोलीले सो स्थानमा शंकास्पद वस्तु देखेपछि नारायण दल गण जोमसोमबाट करिब २५ जनाको बम डिस्पोजल टोली तेताङ लेकमा पुगेको थियो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार डिस्पोजल टोलीले शुक्रबार नै बम डिस्पोज गरेको छ । बम पुरानो भएको र पुरै खिया लागेको अवस्थामा पाइएको थियो । मंगलबार साँझ करिव ५ बजेको समयमा वारागुङ मुक्तिक्षेत्रको तेताङ स्थित प्याङ लेकमा म्याग्दीका ४ जना युवा शंकास्पद वस्तु पड्किएर घाइते भएका थिए ।

लेकमा बन्दोबस्तीका सामाना लिएर डेढ महिना अघिदेखि जिम्बु टिप्दै गरेका युवाहरूले त्यहाँको ओढार मुनि ढुङ्गामा करिब एक दर्जन शंकास्पद वस्तु देखेका थिए । जसमध्ये उनीहरूले ३ वटा शंकास्पद वस्तु आफू बसेको ठाउँ लिएर आइ के रहेछ भनी खोली हेर्दा अचानक सो वस्तु पड्किएको थियो ।

शंकास्पद वस्तु पड्किएर म्याग्दीको मालिका गाउँपालिका-३ का २२ वर्षीय रेस रोक्कामगर, १९ वर्षीय टिका बुढामगर,२५ वर्षीय तेजेन्द्र रोक्कामगर र २५ वर्षीय दिलिप रोक्कामगर घाइते भएका थिए । घाइते जिम्बु टिप्ने युवाहरूलाई जोमसोममा सामान्य उपचारपछि थप उपचारका लागि बुधबार पोखरा लगिएको थियाे।

जिम्बु खोज्ने क्रममा शंकास्पद वस्तु पड्किएर घाइते भएकामध्ये २५ वर्षीय तेजेन्द्र रोक्कामगरको दुबैतर्फको हातको औलामा क्षति पुगेको थियो । उनको बाँयातर्फको हातको ३ वटा औला समेत नरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७