जनताको रुझान सत्ता गठबन्धनको विपक्षमा देखिन थाल्यो : महासचिव पोखरेल


२२ श्रावण २०७९, आईतवार
shankar pokhrel 1

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले महासचिव शंकर पोखरेलले जनताको रुझान सत्ता गठबन्धनको विपक्षमा देखिँदै गएको दाबी गर्दै सरकारको असफलता भण्डाफोर गरेर आमनिर्वाचनमा मत बढाउन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासंघको प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महासचिव पोखरेलले त्यस्तो निर्देशन दिएका हुन् । ‘जनताको झुकाव आमरूपमा संस्थापनविरुद्ध देखा पर्‍यो र अब आउने चुनाव हामी सत्ताविरुद्ध लड्दै छौँ । जनताको रुझान सत्ताको विपक्षमा रह्यो र त्यो सत्तासँग चुनाव लड्दै छौँ, जुन सत्ता असफल भएको छ,’ पोखरेलले थपे, ‘त्यस अर्थमा सत्ताको विरोध र भण्डाफोर जति तीव्र बनाउँछौँ, एमालेको भोटमा त्यति वृद्धि गर्न सकिन्छ भन्ने लाग्छ ।’

अहिलेकै तरिकाबाट सरकार अगाडि बढे मुलुक एक वर्षपछि श्रीलंका बन्ने खतरा देखिएको दाबी गरे । उनले भने, ‘यो सरकार यदि यही तरिकाबाट अगाडि बढ्यो भने एक वर्ष पछाडि हाम्रो विदेशी मुद्राको सञ्चिति शून्य अवस्थामा पुग्नेछ र हामी श्रीलंकाको बाटोमा जान बाध्य हुनेछौं । त्यस अर्थमा यो सरकार कति अक्षम छ, नालायक छ, अयोग्य छ भन्ने कुरा यो तथ्यले उजागर गरेको छ ।’

सरकारले जनतालाई महँगी र भ्रष्टाचार मात्रै उपहार दिएको उनको भनाइ थियो । ‘हामीले छोड्दा यो मुलुकमा मूल्यवृद्धि दर ३ दशमलव ६ प्रतिशतमा थियो, त्यो बढेर अहिले ८ दशमलव ५६ प्रतिशत पुगेको छ । दोब्बरभन्दा बढी मूल्यवृद्धि भएको छ । जनताको जीवन कष्टप्रद बनेको छ । गठबन्धन सरकारले जनतालाई महँगी र भ्रष्टाचार उपहार दियो भन्नेखालको योभन्दा अर्को तथ्य के हुन्छ ?’ पोखरेलले भने, ‘एक प्रकारले माफियातन्त्र, दलाल नोकरशाही पुँजीवादलाई प्रवद्र्धन गर्ने सरकारका रूपमा अगाडि आयो । यो सरकारको नेतृत्वमा मुलुकको अर्थतन्त्रको विकास सम्भव छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७