पाँचथरमा घटे मतदाता


२५ आश्विन २०७९, मंगलवार
matadata patra

पाँचथर । पाँचथरमा मतदाता घटेका छन् । गत स्थानीय तहको निर्वाचनभन्दा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने मतदाताको संख्यामा कमी आएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख ४० हजार दुई सय २४ मतदाता थिए । तर आगामी निर्वाचनका लागि जिल्लामा कुल एक लाख ३८ हजार नौ सय ३२ मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी कुमारप्रसाद भट्टराईले जानकारी दिए । स्थानीय तहको निर्वाचनभन्दा एक हजार दुई सय ९२ मतदाता घटेको उनको भनाइ छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता अद्यावधिक गर्ने क्रममा मतदाताको संख्या घटेको पाइएको हो । मृत्यु भएका मतदाताको नाम हटाउने, दोहोरो परेका नाम हटाउने, बसाइँ सरी जाँदा मतदाता नामावली सार्नेजस्ता कारणले मतदाताको संख्या घटेको कार्यालय प्रमुख भट्टराईको भनाइ छ । यहाँबाट तराईतर्फ बसाइँसराइको क्रम अत्यधिक रहेकाले मतदाता र जनसंख्या घट्ने गरेको छ ।

यस्तै मतदाता संख्या जनसङ्ख्याको लैङ्गिक अनुपातसँग मिल्दोजुल्दो हुनुपर्ने भए पनि जिल्लामा भने फरक रहेको पाइएको छ । कार्यालय प्रमुख भट्टराईका अनुसार पाँचथरमा अहिले कायम भएका मतदातामध्ये पुरुष ७३ हजार तीन सय ६६ र महिला ६५ हजार पाँच सय ६६ रहेका छन् ।

जबकि पाँचथरको विसं २०७८ को जनसंख्याअनुसार पुरुषभन्दा महिलाको संख्या तीन सयभन्दा बढी छ । सो जनगणनाको तथ्याङ्कानुसार जिल्लाको कुल जनसंख्या एक लाख ७४ हजार चार सय १९ छ । जसमध्ये पुरुष ८७ हजार ३३ र महिला ८७ हजार तीन सय ८६ छन् ।

जनसंख्यामा महिलाको संख्या बढी रहे पनि मतदातामा महिलाको संख्या कम देखिएको हो । अहिले कामय भएको मतदाता संख्यामा पुरुषभन्दा महिलाको सङ्ख्या सात हजार आठ सय कम छ । ‘महिला मतदाताको संख्या कम हुनुमा राज्यको पहुँच नपुग्नु, यहाँको मानिस भए पनि अन्यत्रै बसोबास गर्नु, मतदान वा निर्वाचन प्रक्रियाबारे अनविज्ञ वा अनिच्छुक हुनुजस्ता कारण हुन सक्छन्’, भट्टराईले भने । घरदैलो अभियानमार्फत मतदाता पहिचान आवश्यक देखिएको उनले बताए ।

यस्तै आगामी निर्वाचनका लागि पाँचथरमा एक मतदान केन्द्र र मतदानस्थल थप भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका–७ लिम्बामा रहेको सार्वजनिक माध्यमिक विद्यालय मतदान केन्द्रलाई फुटाइ सोही वडाको सरस्वती आधारभूत विद्यालय कम्फ्युटारमा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन अधिकारी भट्टराईले जानकारी दिए । अब पाँचथरमा एक सय दुई मतदान केन्द्र र एक सय ७७ मतदानस्थल कायम भएका छन् । आठवटा स्थानीय तह रहेको पाँचथरमा प्रतिनिधिसभा सदस्यको एकमात्रै निर्वाचन क्षेत्र रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७