नवौं राष्ट्रिय खेलकुद : हक्की आजदेखि, खेल मैदान स्तरीय नभएको गुनासो


२७ आश्विन २०७९, बिहीबार
Hocky Field at Pokhara 1024x719 1

पोखरा । नवौँँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (बिहीबार) देखि हक्की प्रतियोगिता शुरु हुँदैछ । पुरुषतर्फको खेल हेम्जाको गौरीशङ्कर खेल मैदानमा तथा महिलातर्फको खेल गण्डकी बोर्डिङ स्कुलमा सञ्चालन हुन लागेको छ ।

हक्की प्रतियोगिताका लागि बुधबार हेम्जाको गौरीशङ्कर खेल मैदान व्यवस्थापन गर्नेलगायत काम सम्पन्न भएको नेपाल हक्की सङ्घका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले जानकारी दिए ।

गए राति अबेरसम्म मैदानको घाँस काटिएको थियो । उनले हतार हतारमा व्यवस्थापन गरिएका यस्ता पूर्वाधारका कारण खेलाडीलाई चोट पटकको चुनौती रहेकोे गुनासो गरे । समयमा खेल मैदान व्यवस्थापनतर्फ सम्बन्धित निकायले ध्यान नदिँदा समस्या भएको उल्लेख गर्दै खड्काले स्थानीय निकाय, खेल व्यवस्थापकलगायत सम्बन्धित निकायबीच समन्वय नभएको बताए ।

भौतिक पूर्वाधार पर्याप्त नहुँदा हक्की प्रतियोगिता प्रदेश बाहिर लैजाँदा राम्रो सन्देश नजाने भएकाले चुनौतीका बाबजुद पनि कास्कीमै गराउन लागेको खड्काको भनाइ छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले छोटो समयमा सबै खेलको भौतिक पूर्वाधार निर्माण गर्दा कुनै कुनै प्रतियोगिता अभाव र चुनौतीका बाबजुद सञ्चालन गर्न लागिएको स्वीकार गरे । हक्कीमा पुरुषतर्फ नौ तथा महिलातर्फ सात टोलीले प्रतिस्पर्धा गर्दैछन् । नवौँ राष्ट्रिय प्रतियोगिताको यही असोज २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिकरुपमा उद्घाटन गर्ने कार्यक्रम भए पनि प्रतियोगिताअन्तर्गतका केही खेल भने शुरु भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७