गुण्डुका किसानले बेचे तीन करोडको फूल र माला


७ कार्तिक २०७९, सोमबार
Flower 10

भक्तपुर । फूलखेतीका लागि प्रसिद्ध भक्तपुर सूर्यविनायक–७ गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी रु तीन करोडभन्दा बढी आम्दानी गरेका छन् ।

यहाँका किसानले व्यावसायीक रुपमा पाँच रोपनी क्षेत्रफलसम्म फूल खेती गरिरहेका छन् । प्रत्येक किसानले वार्षिक रुपमा न्यूनतम पाँच सयदेखि १० हजार वटासम्म माला बिक्री गर्दै आएका छन् । वडा अध्यक्ष रबीन्द्र सापकोटाले तिहारअघि मात्रै रु तीन करोड बराबरको माला बिक्री भइसकेको जानकारी दिए ।

गत वर्ष मात्रै तीन हजार माला बिक्री गरेकी पार्वती नगरकोटीले यस वर्ष भने पाँच हजार माला बिक्री गर्ने बताइन् । नगरकोटीले एक रोपनीमा फूलखेती गरिरहेकी छन् । किसानले माला प्रतिगोटा रु २५ देखि ३५ मा बिक्री गर्छन् ।

अर्का किसान पवित्रा बस्नेतले यस वर्ष पनि फूल र मालाको माग गत वर्षको तुलनामा धेरै भएको बताइन् । एक रोपनी जग्गामा फूलखेती गरेकी उनी यस वर्ष करिब १२ सय वटासम्म माला बिक्री गर्ने योजनामा छिन् ।
गुण्डुका किसानहरुले प्रत्येक वर्षको फागुनमा नर्सरी राखेर चैतको अन्तिममा मकै र भट्माससँगै मखमली फूलको रोप्दै आएका छन् । ‘मकै र भट्माससँगै चैतको अन्तिममा लगाएको फूल साउनको पहिलो साताबाट टिप्न शुरु हुन्छ’, किसान मेनुका नगरकोटीले भनिन् ।

स्थानीय बासिन्दाले मात्रै नभई जग्गा भाडामा लिएर फूलखेती गर्नेहरु पनि थपिएपछि यहाँ फूल उत्पादन बढेको छ । सूर्यविनायक नगरपालिकाले वडा कार्यालयमार्फत् यहाँका फूलखेती गर्ने किसानलाई यस वर्ष ६० हजार फूलको बेर्ना वितरण गरेपछि सयपत्री फूलतर्फ पनि यहाँका बासिन्दा आकर्षित भएका हुन् ।

चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई पनि माला गाँस्न र बजारमा लैजान भ्याइनभ्याइ छ । फूल खेतीको पुख्र्यौली पेशा अङ्गालेका किसान श्याम बनमालाले फूलखेतीबाट चित्त बुझ्दो कमाइ भइरहेको बताए ।

विगत १० वर्षदेखि मखमली फूलको खेती गर्दै आएकी स्थानीय शोभा बालाले यहाँ दुईआना जग्गामा फूल खेती गर्नेले पनि एउटा मौसममा ३० हजार कमाउने गरेको बताइन् । राम्रोसँग फूल खेती गर्न सके एक रोपनी जग्गामा रु ७० हजारदेखि एक लाखसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७