फेरि आफ्नै आँगनमा ‘कमरेड’ अशोक


२० कार्तिक २०७९, आईतवार
1085 Shares
Ashok Rai scaled


यी औंला तिनै हुन् तिमीले चुमेका
परेली यिनै हुन् तिमीले पुछेका


यो सम्झिने मन छ, म बिर्सुं कसोरी ?
तिमी नै भनिदेऊ ! ए जाने निष्ठुरी

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ठीक ५ वर्षअघि मजदुरका लोकप्रिय धराने नेता भीम ज्वाला राई अहिले जसरी धरानका चोक र गल्लीहरूमा भाषण गर्दै भोट मागिरहेका थिए । नामको पछाडि उनले ज्वाला राखेका छन् । यिनको कार्यशैली, विचार र भाषण ठ्याक्कै उनले रोजेको पछिल्लो नामसँग मेल खान्छ । यिनी तातिन सक्छन्, तताउन सक्छन् । यसपालि नि कुरो उही छ, चुनाव । तर, विषय र पात्रचाहिँ फरक । अघिल्लो निर्वाचनमा एमाले नेता जय राईको पक्ष र एमालेका पूर्वनेता अशोक राईको विपक्षमा बोल्नुपर्ने थियो । यसपालि ठीक उल्टो छ ।

ncll 2

एमालेका पूर्वनेता अशोक राईको पक्ष र अस्तिसम्मका एमाले नेता मनोज मेन्याङ्बोको विपक्षमा बोल्नुपर्ने भएको छ । अशोकविरुद्धमा बागी उठेपछि मनोज कारबाहीमा परेका छन् । निवर्तमान एमाले नेता भएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद् अध्यक्ष राई यसपटक पनि सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । २०७४ मा पनि राई यही क्षेत्रबाट उम्मेदवार थिए । तर, त्यसबेला उनी नेकपा एमालेविरुद्ध नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेदवार । यसपटक जसपा र एमालेले ठाउँ–ठाउँमा गठबन्धन गरेका छन् । धरानमा अशोकलाई एमालेको समर्थन छ ।

jagdamba.cement

अशोकको पक्षमा लाग्दै गर्दा कमरेड ज्वालालाई उति धेरै असजिलो लागेको छैन । बरु घरिघरि स्वरसम्राट नारायण गोपालको शब्द र संगीतमाथिको गीत गुनगुनाउन लाग्दो रहेछ । यो गीत सायद ‘चटक्क छोडेर कतै भागी गएका मायालु’को सम्झनामा दिनेश अधिकारीले लेखेका होलान् ? तर अशोक राई र एमालेमा हुर्काएका उनका नेता तथा कार्यकर्ताको हकमा यो गीत ठ्याक्कै मिल्छ । गीतले भनेजस्तै ‘अशोकले हजारौं एमाले नेता तथा कार्यकर्ताका औंला चुमेका छन्, धेरै–धेरै एमालेहरूको परेली पुछेका छन् ।’

धरानबाट ज्वालाले अनुभूति सुनाए, ‘छोडी गएका पुराना अभिभावक भेटेजस्तो भएको छ ।’ अशोक राईलाई जिताऔं भनेर लाग्दा गर्व नै लागेको उनको भनाइ छ । भन्छन्, ‘मुख्य कुरा पार्टीको निर्णय हो । एमालेविरुद्ध चौतर्फी हमला भएका बेला जपसा साथमा आएको छ । उहाँ राष्ट्रिय परिषद् अध्यक्ष हुनुहुन्छ । दोस्रो, एमालेको पूर्वनेता हुनुहुन्छ । एमाले निर्माणमा धेरै पसिना बगाउनुभएको नेता हो, उहाँ । तेस्रो, धरानले एउटा बलियो अभिभावक पाएको छ । राष्ट्रिय स्तरको भरपर्दो नेता पाएको छ । अब केन्द्रसँग धरान जोडिन सजिलो हुनेछ ।’

Ashok Kumar Rai Leader


मेटिन नसकिने साइनो
एउटा सन्दर्भका लागि नेकपा (एमाले)को इतिहाससँग सम्बन्धित पुस्तक पढ्दै थिएँ । पुस्तकमध्ये एउटा थियो, रमेश रुछेन राई लिखित जननेता मदन भण्डारीको जीवनी ‘श्वेत शार्दूल’ । पढ्दै जाँदा एउटा प्रसंगले तान्यो । लेखिएको थियो, ‘विद्या र मदनको पहिलो भेट भोजपुरमा भएको थियो, कुनै संयोगले । भोजपुर क्याम्पसमा पढ्ने विद्या सदरमुकाममै बस्थिन् । मदन पार्टी कामले पुगेका थिए भोजपुर । साथमा थिए, पार्टी नेता अशोक राई ।’


कोही एमालेहरूलाई अहिले अशोक राई मन नपर्न सक्छ । तर, एमालेको इतिहास पढ्दा वा लेख्दा पटक–पटक पढ्नुपर्ने र लेख्नुपर्ने नाम हो, अशोक । १० वर्षअघि (२०६९) मा आफैंले बनाएको एमालेको भव्य घरआँगन छाडेर गए, अशोक । उनी अहिले एमाले होइनन् । उनको परिचय र पहिचान एमालेबाट सुरु हुन्न । जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद् अध्यक्ष हुन् । तर, एमाले र उनको साइनो यस्तो छ, ‘एमाले उल्लेख नगरीकन न उनको परिचय र ‘बायोडाटा’ पूरा हुन्छ, न त अशोक राई उल्लेख नगरी एमालेको इतिहास नै पूरा हुन्छ ।’ त्यही नमेटिने साइनो बोकेर उनी फेरि एमालेको आँगनमा आएका छन् । अर्थात्, उनी अहिले एमालेका पनि उम्मेदवार हुन् ।

उनको सबैभन्दा उर्बर र गौरवमय समय २०२९ देखि २०६९ सम्मको ‘बायोडाटा’मा सबै एमाले गर्नुपर्ने हुन्छ । २०२९ मा विराटनगरमा पढ्दै गर्दा झापाली आन्दोलनकारीसँगको सम्पर्कमा पुगेर कम्युनिस्ट आन्दोलनमा लागेका अशोक वामपन्थी यात्रा २०६९ मा विराम लगाएका थिए । अशोक २०३१ मा हात्तीसार क्याम्पस धरानमा विद्यार्थी परिषद्को निर्वाचित सदस्य, २०३३ मा काठमाडौंमा युवाहरूको ‘राँको समूह’को नेतृत्व गर्दै सोही वर्ष नै अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन केन्द्र (माक्र्सवादी लेनीनवादी)का सदस्य भए । २०३६ देखि पूर्णकालीन भएर पूर्वको पहाडी जिल्ला पुगे । पूर्वको भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका गाउँ–गाउँ गएर संगठन विस्तार गरे । पूर्वी पहाडमा कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा उनको उल्लेख्य भूमिका छ । उनले संगठित गरेका, हुर्काएका र प्रशिक्षित गरेका धेरै नेताहरू आज एमालेको नेतृत्व तहमा पुगेका छन् ।

अशोक १०३७ मा पूर्व–दक्षिण क्षेत्रीय कमिटी मालेको सदस्य भए । २०४६ मा नेकपा (माले)को केन्द्रीय सदस्य हुँदै २०५९ मा जनकपुरमा आयोजित नेकपा मालेको साताैं महाधिवशेनमा सर्वाधिक मत पाए । २०५९ मा नेकपा एमाले स्थायी कमिटी सदस्य भए । २०६५ को बुटवलमा आयोजित एमाले आठौं महाधिवेशनमा सर्वाधिक मत प्राप्त गरी निर्वाचित उपाध्यक्ष भए ।


त्यसो त, अशोकले एमालेबाटै अवसर पनि प्राप्त गरे । २०४८ मा खोटाङ निर्वाचन क्षेत्र–३ बाट प्रतिनिधिसभामा निर्वाचित भए । २०५१ मा खोटाङ निर्वाचन क्षेत्र–२ बाट प्रतिनिधिसभामा निर्वाचित भए । २०५१ मा एमालेबाट यातायातमन्त्री भए । २०५३ मा संयुक्त सरकारको संसदीय व्यवस्थामन्त्री भए । २०६२ मा संयुक्त सरकारको स्वास्थ्यमन्त्री ।

पहिचानको मुद्दामा फरक मत राखेर २०६९ मा अशोकले एमाले छाडे । उनको भाषामा उनले एमाले फुटाएका होइनन्, परित्याग गरेका हुन् । अशोकले पार्टी छाडेर जाँदै गर्दा धेरैले चित्त दुखाए । तर, उनले नयाँ संघीय समाजवादी पार्टी बनाउँदै गर्दा एमालेमा रहेकालाई नयाँतिर जाऔं भनेर धेरै दुःख गरेनन् । ‘म नि जान्छु’ भन्नेहरूलाई मात्रै लिएर गए । उनीहरू थिए, हेमराज राई, राजेन्द्र श्रेष्ठ, विजय सुब्बा, रिजवान अन्सारी, वीरबहादुर लामा, अजम्बर काङमाङ राई, रकम चेम्जोङ, रणध्वज कन्दङवा, केशव स्थापित, गोपाल ठाकुरहरू । तर, अहिले उनका साथमा धेरै छैनन् । हेमराज एमालेको समानुपातिकतर्फको उम्मेदवार छन् । विजय एमालेकै प्रत्यक्षतर्फको उम्मेदवार । अजम्बरहरू माओवादी केन्द्रको समानुपातिकतर्फको उम्मेदवार ।

आफूलाई कुनै बेला गहिरो साथ दिनेहरू धेरै एमाले भएका छन् । संयोगले यसपालि एमालेकै समर्थनमा चुनाव लड्दैछन् । २०४८ र २०५१ मा खोटाङबाट चुनाव जितेका अशोक २०५६ को चुनावमा उदयपुर झरे । त्यसयता प्रत्यक्षतर्फ चुनाव जित्न सकेका छैनन् । यदि यसपालि उनले चुनाव जिते भने एमालेकै मतले जित्नेछन् ।

Ashok Rai 1

३१ वर्षपछि एमालेकै आँगनमा
पूर्वमा माले विस्तार गर्दै गर्दा अशोक राईको आधार इलाका थियो, धरान । त्यसैले २०४८ को आमनिर्वाचनमा धरानबाट उम्मेदवार बन्ने योजना थियो, उनको । २०४८ को चुनावका लागि तत्कालीन मालेले २०४७ मंसिरमा उम्मेदवार तय गरेको थियो । अशोक भन्छन्, ‘धरानबाट मैले उठ्ने निर्णय भयो । तयारी पनि गरेका थियौं ।’ तर, २०४७ को माघमा मनमोहन अधिकारी र सहाना प्रधानहरूको नेकपा माक्र्सवादीसँग एकता भयो ।


त्यसपछि मनमोहन अधिकारीले चुनाव लड्ने भए । एक अन्तर्वार्तामा अशोकले भनेका छन्, ‘त्यसबेला मैले चाहेको होइन, आज पनि मैले यही ठाउँ चाहिन्छ भनेर जिद्दी गरेको छैन । पार्टीले गर्ने निर्णयअनुसार अगाडि बढेको छु । पार्टी एकतापछि हामीले मनमोहन अधिकारीलाई देशभरमा कुन निर्वाचन क्षेत्र कम्र्फटेबल लाग्छ, आफैंले रोजेर लिनुस् भन्यौं । उहाँले धरान रोज्नुभयो । हामीले सहर्ष अध्यक्षलाई जिताउन लाग्नुपर्छ भनेर लाग्यौं ।’

त्यसो त, अशोकलाई धरानबाटै चुनाव लड्नुपर्छ भनेर जोड गर्ने मालेका युवाहरू पनि थिए । अशोक भन्छन्, ‘मालेतर्फका यहाँका केही युवा साथीहरू अशोक राई नै हुनुपर्छ भन्नेमा हुनुहुन्थ्यो तर मैले नै ती साथीहरूलाई सम्झाएँ । किनकि, धरानले मनमोहन अधिकारीलाई उम्मेदवार पाउनु गौरव र इज्जतको विषय थियो । मनमोहन अधिकारी नेपालको राजनीतिमा एउटा स्वर्ण अध्याय र कम्युनिस्ट आन्दोलनमा पनि स्वर्ण इतिहास भएको व्यक्तित्व हो । त्यसैले अध्यक्षको उम्मेदवारीमा किन्तुपरन्तुको कुरै छैन भनेर साथीहरूलाई भनें ।’

धरानमा कमरेड मनमोहन अधिकारीको उम्मेदवारी दर्ता गराएर इनरुवा चोक छेउमा एउटा सभा गरेर अशोकले नेता, कार्यकर्तालाई आह्वान मनमोहनलाई जिताउन अपिल गरे । उनी सम्झिन्छन्, ‘मनमोहन अधिकारीलाई जिताउन सकिएन भने पार्टी नै पराजित भएको ठहर्छ भन्ने निष्कर्ष सुनाएँ । किनकि, पार्टीले जिते पनि अध्यक्षले हारेमा सिंगो पार्टी पराजयकै सन्देश जान्थ्यो । त्यसबेला मलाई पार्टीले खोटाङ पठाएको थियो । मेरो उम्मेदवारी वारेसबाट दर्ता भएको थियो । उम्मेदवारी दर्ता भएको तीन दिनपछि खोटाङतिर लागें । संयोग, उहाँले पनि जित्नुभयो । जनताले मलाई पनि जिताए ।’

त्यसपछि पनि ‘अशोकले धरानलाई जहिल्यै मिस गरिरहे । धरानले अशोकलाई ।’ संयोग २०७४ मा प¥यो । विडम्बना ! उनले बनाएका कार्यकर्ताहरू उनीसँग थिएनन् । न कुनै बेलाको उनको प्रिय पार्टी नेकपा (एमाले), न त सूर्य चिन्ह नै उसको साथमा थियो । तर, यसपालि आफूले पसिना बगाएको कुनै बेलाको आफ्नो प्रिय पार्टी नेकपा (एमाले)को सहयोग पाएका छन् । एमालेका कार्यकर्ताको सहयोग पाएका छन् ।
०००
भनिन्छ– राजनीति सम्भावनाको खेल हो । एमालेको आँगन छाडेर गएपछि अशोकले एमालेलाई कति सम्झिन्छन् ? तर, यत्तिका वर्ष बित्दा पनि उनलाई एमालेमा सम्झिरहनेहरू थुप्रै छन् । त्यसो त, एमाले छाडेर हिँडे पनि एमालेका नेता, कार्यकर्तामाथि उनले चर्को विरोध कहिल्यै गरेनन् । बरु अन्तर्वार्ताहरूमा आफू एमाले सिध्याउन होइन, सच्याउन हिँडेको बताइरहे । उनले बारम्बार भन्ने गरेका छन्, ‘एमाले निर्माणमा मेरो पनि रगत–पसिना बगेको हो, तर एमाले सच्याउन आवश्यक भएकाले फरक भूमिकामा छु ।’

पार्टी निर्माणमा सहयोग गरेका उनका सहयात्री हेमराज राई, विजय सुब्बाहरू उही पुरानो घरमा घरजम गरिसकेका छन् । अशोकलाई बारम्बार सोधिने प्रश्न हो, ‘तपाईं एमालेमा फर्किने सम्भावना कति छ ?’ ‘गेम अफ इन्डलेस पोसिबिलिटी’ उनले भन्ने गरेका छन् । यसपालि मनमोहनपछि धरानेले अग्लो नेता पाएका छन् । २०४८ मा भोट हाल्न नपाएका नेकपा (एमाले)ले का कार्यकर्ताले पनि भोट हाल्ने अवसर पाएका छन् । यसपालि धरानका एमालेहरूले अशोकलाई जिताइपठाए भने पुरानो माया गाढा नभएर ‘प्याचअप’ नहोला भन्न कसरी सकिएला र ?

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७