ट्युनिसियासँग हारे पनि फ्रान्स समूह विजेता


१४ मंसिर २०७९, बुधबार
Tunisia vs France X67rU6oVV7

काठमाडौं । साविक विजेता फ्रान्स समूह विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह डी को अन्तिम खेलमा ट्युनिसियासँग १-० ले पराजित भएपनि फ्रान्स समूह विजेता बन्दै अघि बढेको हो ।

नकआउट चरणमा स्थान बनाएको फ्रान्सले दोस्रो रोजाइका खेलाडीलाई अवसर दिएको थियो । ट्युनिसियाले यसको फाइदा उठाउँदै पहिलो हाफमा फ्रान्सलाई जम्न दिएन । ट्युनिसियालाई सुरुवातमै भीएआरले गोललाई मान्यता नदिएपछि टोली थप आक्रामक बनेको थियो ।

दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । कप्तान वाह्बी खाज्रीले कमजोर डिफेन्स र गोलरक्षकको फाइदा उठाउँदै अग्रता दिलाए । त्यसपछि फ्रान्सले लगातार खेलाडी परिवर्तन गर्दै स्टार खेलाडी उतारेपनि खेल बदल्न सकेन । फ्रान्स हारका बाबजुद समूह विजेता बन्दा ट्युनिसिया जितेर पनि समूहको तेस्रो स्थानमा रहँदै समूह चरणबाट बाहिरियो ।

दोस्रो हाफको ५८ औं मिनेटमा ट्युनिसियाले फ्रान्सको कमजोर डिफेन्सको फाइदा उठाउँदै अग्रता लियो । मिडफिल्डमा बल खोसेको ट्युनिसियाका लागि कप्तान वाह्बी खाज्रीले बललाई एक्लै अघि बढाउँदै पेनाल्टी क्षेत्र भित्रबाट फिनिस गरे । उनको फितलो प्रहार दोस्रो रोजाइका गोलरक्षक स्टिभ मान्डान्डाले जोगाउन सकेनन् ।

दोस्रो हाफमा गोल खाएपछि फ्रान्सले पहिलो रोजाइका खेलाडीलाई मैदान पठाएको थियो । किलीयन एमबाप्पे, एन्टोइन ग्रिजमन र ओस्मान डेम्बेले मैदान छिरेपनि फ्रान्स गोल फर्काउन असफल रहयो । इन्ज्युरी समयमा ग्रिजमनले गोल गरेपनि भीएआरले त्यसलाई गोलको मान्यता दिएन ।

जितका बाबजुद ट्युनिसिया नकआउट चरणमा भने पुग्न सकेन । अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई हराएपछि ट्युनिसिया समूह चरणबाट बाहिरियो । फ्रान्स भने हारका बाबजुद समूह विजेता बन्न सफल रहयो ।फ्रान्स र अष्ट्रेलियाले ३ खेलमा २ जित र १ हारसहित ६ अंक जोडे । फ्रान्स गोल अन्तरमा अघि रहेर समूह विजेता बन्यो । ट्युनिसिया ३ खेलमा ४ अंक जोडेपनि समूहको तेस्रो स्थानमा सिमित रहेर प्रतियोगिताबाट बाहिरियो । डेनमार्क १ अंकसहित पुछारमा रहयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७