उत्तर कोरियाले गर्‍यो पूर्वी समुद्रमा दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार


३ पुष २०७९, आईतवार
kim

सियोल । प्योङयाङले नयाँ हतियार प्रणालीका लागि ठोस इन्धन प्रयोग गर्ने मोटरको सफल परीक्षण गरेको जनाएको केही दिनपछि आइतबार दुई ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

प्योङयाङले गएको महिना अहिलेसम्मकै अत्याधुनिक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणसहित अभूतपूर्व हतियार परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा यो वर्ष सैन्य तनाव ह्वात्तै बढेको छ । दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले उत्तर प्योङगान प्रान्तको तोङचाङ–री क्षेत्रबाट प्रहार गरिएका दुई ब्यालेस्टिक क्षेप्यास्त्र फेलापरेको पुष्टि गरेका हुन् ।

उनका अनुसार ती क्षेप्यास्त्रहरू स्थानीय समयानुसार बिहान ११ः१३ देखि अपराह्न १२ः०५ बजेसम्म पूर्वी सागरमा प्रहार गरिएको थियो । जेसीएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो सेनाले संयुक्त राज्य अमेरिकासँग नजिकबाट सहकार्य गर्दै निगरानी र सतर्कतालाई बलियो बनाएको छ ।’

जापानको रक्षा मन्त्रालयका अनुसार उक्त क्षेप्यास्त्र करिब ५०० किलोमिटरको उचाइमा पुगेको थियो । ‘यसले जापान, यस क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको शान्ति र सुरक्षालाई खतरामा पार्छ र यो बिल्कुलै अस्वीकार्य कार्य हो’, वरिष्ठ उपरक्षामन्त्री तोशिरो इनोले भने । उत्तर कोरियाले ‘हाई थ्रस्ट सोलिड फ्युल मोटर’को परीक्षण गरेको केही दिनपछि आइतबारको प्रक्षेपण भएको हो । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले यसलाई ‘अर्को नयाँ प्रकारको रणनीतिक हतियार प्रणालीको विकासका लागि’ महत्त्वपूर्ण परीक्षणका रूपमा व्याख्या गरेको छ ।

आफ्नो हतियार कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद प्योङयाङले अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आईसीबीएम)को शस्त्रागार निर्माण गरेको छ । यद्यपि, उत्तर कोरियाली नेता किम जोङ उनले थप उन्नत क्षेप्यास्त्रका लागि ठोस इन्धन इन्जिन विकास गर्न रणनीतिक प्राथमिकता दिएका छन् । नेता किमले यसै वर्ष उत्तर कोरियासँग विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति होस् भन्ने चाहका साथ आफ्नो देशलाई ‘अपरिवर्तनीय’ आणविक राष्ट्र घोषणा गरेका थिए ।

उनले गत वर्ष सार्वजनिक गरेको इच्छासूचीमा जमिन वा पनडुब्बीबाट प्रक्षेपण गर्न सकिने ठोस इन्धनको आईसीबीएम पनि समावेश थियो । पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण उक्त लक्ष्यतर्फको एक कदम थियो । तर, यस्तो क्षेप्यास्त्रको विकासमा उत्तर कोरिया कति टाढा पुगेको छ भन्ने स्पष्ट नभएको विश्लेषकहरूले बताएका छन् ।

यस महिनाको अन्त्यमा हुने पार्टीको बैठकमा अर्को वर्षका लागि पृथक देशको नीतिगत दिशा तय गरिने बताइएको छ । उत्तर कोरियाको सरकारी समाचार संस्थाका अनुसार यसअघि किमले सन् २०२३ लाई ‘ऐतिहासिक वर्ष’ हुने बताएका थिए ।

गत नयाँ वर्षको दिन जारी गरिएको आफ्नो पछिल्लो सम्बोधनमा किमले घरेलु मामिलाबारे बोलेका थिए । गत वर्ष किमले अमेरिकालाई प्रत्यक्ष सम्बोधन नगरे पनि यो पटक भने उनले आफ्नो स्वर परिवर्तन गर्न सक्ने विज्ञहरूले बताएका छन् । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाले आफ्नो सातौँ आणविक परीक्षणको तयारी गरिरहेको महिनौँदेखि चेतावनी दिँदै आएका छन् । रासस /एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७