चितवन पुगेका प्रचण्डले भने, ‘प्रधानमन्त्रीकै लागि सबै चिज दाउमा राख्दिनँ’


४ पुष २०७९, सोमबार
prachanda 6
फाइल फोटो

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू प्रधानमन्त्री बन्नका लागि सबै विषय दाउमा नराख्ने बताएका छन् । गृह जिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले राष्ट्रपतिले सरकार गठनका लागि सात दिनको समय दिएकाले सोही समयावधिभित्र गठबन्धनबाट प्रधानमन्त्री चयन हुने बताए । उनले गठबन्धनमा कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे छलफल भइरहेको जानकारी दिए ।

‘हामी गठबन्धनमा छलफल गर्छौ र टुंग्याउछौ । अहिले नै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागेको छैन’, अध्यक्ष प्रचण्डले भने, ‘मैले प्रधानमन्त्रीका लागि आकांक्षा राख्नु स्वभाविक हो तर बाहिर भने जस्तो दावी भनेर औपचारिक रुपमा गठबन्धनको बैठकमा गरेको छैन ।’

उनले माओवादीले एमालेसँग सरकार बनाउने भन्ने चर्चा सत्य नभएको बताए । ‘स्वभाविक रुपमा सबैसँग छलफल चलिरखेका छ । तर म प्रधानमन्त्रीका लागि सवै चिज दाउमा राख्दिनँ’, अध्यक्ष प्रचण्डले यसअघि धेरै नेताहरुलाई आफूले प्रधानमन्त्री बनाउन भूमिका खेलेको पनि स्मरण गराए ।

उनले एमालेसँग माओवादीको कुराकानी हुनु स्वभाविक भएको भन्दै अरुको पनि कुराकानी भइरहेको बताए । ‘यो स्वभाविक हो, कांग्रेस–एमालेको पनि कुरा भइरहेको छ । कुरा हुने वित्तिकै टुंगोमा पुगेको भन्ने होइन’ अध्यक्ष प्रचण्डले भने ।
उनले राष्ट्रपति गैरदलीय व्यक्ति हुन नसक्ने भन्दै केही बुद्धिजीविहरुले त्यस्तो व्यक्ति हुदाँ राम्रो हुने भनेर भने पनि अहिले त्यो सम्भावना नरहेको र दलबाटै राष्ट्रपति चयन हुने बताए ।

‘गठबन्धनमा गैरदलीय व्यक्ति राष्ट्रपति हुने भनेर छलफल भएको छैन । सम्भावना पनि छैन’, प्रचण्डले राष्ट्रपतिले दिएको सात दिनको समयमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका शक्ति बाँडफाड गरेर प्याकेजमै सहमति खोज्ने प्रयत्नमा दलहरू रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७