शोभराजलाई यहि राखिरहे फेरि फसाउन सक्छन् : निहिता विश्वास


८ पुष २०७९, शुक्रबार
Nihita biswas

काठमाडौं । कानुन व्यवसायी निहिता विश्वासले राजनीतिक गुटबन्दीका कारण चार्ल्स शोभराजको रिहाइमा ढिलाइ भएको बताएकी छिन् । उनले अध्यादेश ल्याउने र आफ्ना मान्छेलाई मात्रै कारागारबाट छुटाउन खोज्ने नेताहरूका कारण शोभराजको रिहाइमा पाँच वर्ष ढिलाइ भएको दाबी गरिन् ।

शोभराज जस्ता कैयौं व्यक्तिको राजनीतिक पहुँच नभएर वा विदेशी भएकाले कैद मिनाहा नभएको उनले बताएकी छन् । ‘यो रुल अफ ल होइन अब्युज अफ ल भइरहेको छ । चार्ल्स शोभराज जस्तो यहाँ अरू पनि कैदीबन्दीहरू छन् जसले मिनाहा पाउनु पर्नेछ । तर, उनीहरूको नाम चाहिँ विदेशी भएकाले अथवा पहुँच नभएको कारणले हरेकपल्ट काटिन्छ,’ शोभराजकी श्रीमती समेत रहेकी विश्वासले भनिन् ।

‘हाम्रो चाहना शोभराजलाई सुरक्षा राम्रो बनाएर रिहा गर्नु थियो । तर अहिले पनि हामीले सुरक्षाको महसुस गरेनौं’, उनले थपिन्, ‘हामी आज नै उनलाई फ्रान्स फर्काउन खोजिरहेका छौं । नेपालमै राखिरह्यो भने अझै जे पनि हुने डर हामीलाई छ । उनलाई अर्को मुद्दा लगाएर फसाउने डर छ ।’

मुटुको रोग लागेका शोभराजको कारागारभित्रै निधन हुने देखेकाले पनि सर्वोच्चले उनलाई रिहा गर्ने निर्णय लिएको तर्क गर्दै विश्वासले सर्वोच्चको फैसलाले विदेशी कैदीको पक्षमा एउटा नजिर कायम गरेको उल्लेख गरिन् । सर्वोच्चको फैसलासँगै केन्द्रीय कारागारबाट थुनामुक्त भई शुक्रबार अध्यागमन विभागको जिम्मा लगाइएका शोभराजलाई फ्रान्स पठाउने तयारी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७