नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय भोलि साँझसम्म

दलहरुको कसरत जारी


९ पुष २०७९, शनिबार
deuba prachanda madhav

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठनका लागि दिएको समय भोलि (आइतबार) साँझसम्म छ । बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न सत्तारुढ गठबन्धन दलबीच बालुवाटारमा छलफल भइरहे पनि सहमति जुट्न सकिरहेको छैन् ।

राष्ट्रपति भण्डारीले गत आइतबार (पुस ३) साँझ ७ दिनभित्र संसदमा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गरेकी थिइन् । त्यो समयसीमा सकिनै लाग्दा पनि दलहरुले सरकार गठनको खाका समेत तयार पार्न सकेका छैनन् ।
राष्ट्रपतिले दिएको समयसीमाअनुसार दलहरूले पुस १० गते साँझ ५ बजेभित्र सरकार गठनका लागि आवश्यक बहुमत जुटाउनु पर्ने हुन्छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति पुस १० गतेभित्र दाबी पेस गर्न आग्रह गरेकी हुन् ।

सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच नयाँ सरकारमा शक्ति बाँडफाँडमा कुरा मिलेको छैन । निरन्तर छलफलमा रहे पनि दलीय अडानका कारण शीर्ष नेताले कुनै प्रगति गर्न सकेका छैनन् । तर, पद बाँडफाँटमा सहमति जुटाउन गठबन्धन सम्बद्ध शीर्ष नेताहरू बालुवाटारमा निरन्तर छलफलमै छन् ।

सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज (शनिबार) पनि छलफल हुने भएको छ । शुक्रबार भएको छलफल निष्कर्षविहीन बने पछि आज पुनः छलफल हुन लागेको हो ।
स्रोतका अनुसार दुवै नेताले प्रधानमन्त्रीको दाबी नछाडेपछि शुक्रबार साँझ बालुवाटारमा भएको छलफलमा सहमति हुन सकेको थिएन । प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधामन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन् । तर, आफ्नै आकांक्षा र पार्टीको दबाबका कारण देउवा प्रचण्डको प्रस्ताव स्वीकार गर्न तयार छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७