बालकोट वार्ता : प्रचण्डको पक्षमा वहुमत पुर्‍याउने तयारी

एमाले, माओवादी, रास्वपा र राप्रपा मिलेर सरकार बनाउने विषयमा छलफल


१० पुष २०७९, आईतवार
kp prachanda barta

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय घर्किदै गएका बेला सत्ता गठबन्धन लगभग टुटेको अवस्थामा पुगेको छ । नयाँ गठबन्धन बनाउने समय केहि घण्टा मात्र बाँकी रहेका बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा नयाँ सत्ता समीकरण बन्ने देखिएको छ ।

नयाँ सरकार गठनका विषयमा निर्णय गर्न बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग मिलेर सरकार बनाउने तयारी थालेका छन् । अहिले माओवादी अध्यक्ष प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार गठनको विषयमा छलफल चलिरहेको छ ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोटमै छन् । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा मिलेमा बहुमत पुग्ने छ । एमालेको ७८, माओवादीको ३२, रास्वपाको २० र राप्रपाको १४ गरेर एक सय ४४ सिट पुग्ने छ । सरकार बनाउन एक सय ३८ सिट भए पुग्छ ।

यसअघि बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद नछाड्ने अडान लिएपछि माओवादीका नेताहरू बाहिरिएका थिए । माओवादीले राष्ट्रपति कांग्रेसले राखे पनि सुरुको दुई वर्ष आफूहरूले प्रधानमन्त्री पाउनु पर्ने अडान राखेको थियो । तर कांग्रेसले सुरुको दुई वर्ष प्रधानमन्त्री नछाड्ने अडान लिएपछि बैठक निष्कर्षमा पुग्न सकेन । माओवादीले यसअघि कांग्रेसलाई पटक–पटक सहयोग गरेकाले यस पटक सघाउन आग्रह गरेको थियो तर कांग्रेसले माओवादीको प्रस्ताव मानेको छैन ।

अहिले बालकोटमा चार दलबीच नयाँ सत्ता समीकरणका लागि वार्ता भइरहेको छ। यी चार दल मिलेर नयाँ सरकार बनाउनेबारेमा सहमति गर्ने तयारी छ । यस्तोमा प्रचण्डलाई राष्ट्रपतिको कार्यालयले आजै प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने छ । यसबीचमा राप्रपाले आजै आकस्मिक बैठक डाकेको छ । उता रास्वापले सभापति लामिछानेलाई नै सरकारबारे निर्णयको अधिकार दिइसकेको छ । जसपा पनि एमालेसँगको गठबन्धनमा रहेकाले सरकारमा जाने सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७