प्रचण्ड प्रधानमन्त्री बनेपछि चितवनमा खुुशीयाली


११ पुष २०७९, सोमबार
prachanda pic

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् ।

गृह जिल्ला चितवन भएका दाहाललाई आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । अघिल्लो कार्यकालमा चितवनबाट चुनाव जितेका उनले जिल्लामा ठूला विकास निर्माणका योजना सुरुवात गरेका थिए । ती योजनाले अब पूर्णता पाउने र नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन् ।

भरतपुर महानगरपालिका मेयर रेनु दाहालका अनुसार प्रधानमन्त्री नहुँदा पनि ‘प्रचण्ड’ को क्षेत्र र महानगर पूरै भागमा गएको पाँच वर्षमा ४० अर्ब रुपैयाँभन्दा बढीका योजना परेका थिए । ती सबै योजनामा मुख्य भूमिका प्रधामन्त्री दाहालकै थियो । चितवन क्षेत्र नं ३ मा भरतपुर महानगरपालिकाको आधाभन्दा बढी भाग र माडी नगरपालिका पूरै पर्दछ ।

आफूले चुनाव जितेको क्षेत्रमा अरु धेरै विकासका काम गर्ने उनका कतिपय योजना अधुरै छन् । गोरखाबाट चुनाव जिते पनि प्रधामन्त्री दाहाल चितवनको अभिभावक भएकाले विगतमाझैं जिल्लाको विकास निर्माणमा महत्त्वपूर्ण भूमिका रहने नगरकी मेयर दाहालले बताइन् ।

आफू गोरखाबाट निर्वाचित भइसकेपछि यहाँ आएको बेला प्रधानमन्त्री दाहालले आफ्नो निर्वाचन क्षेत्र गोरखा र गृह जिल्ला चितवन पनि भएको भन्दै यहाँको विकासमा चासो दिँदै आएका थिए । नगरकी मेयर दाहालले भनिन्, ‘प्रचण्ड’ चितवनको अभिभावक हो, जनप्रतिनिधि हुँदा पनि नहुँदा पनि उत्तिकै दायित्व उहाँसँग छ । समग्र महानगरसँगै चितवनको विकासमा उहाँको भूमिका रहन्छ ।’

चितवन उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष समेत रहेका कांग्रेस नेता राजन गौतमले उनी प्रधानमन्त्री हुँदा चितवनले विकासको अवसर पाउने बताए । जिल्लाकै जनप्रतिनिधि बनाउनु पर्नेमा चितवन चुकेको भन्दै उनले गोरखाबाट जिते पनि गृह जिल्ला चितवन भएकाले यहाँको विकासमा प्रधानमन्त्री दाहालको भूमिका रहने उल्लेख गरे ।

जिल्लामा रहेको उद्योग सङ्घका पूर्व अध्यक्ष राजु पौडेलले प्रधानमन्त्री दाहाल यसअघि यहाँको जनप्रतिनिधि भएका बखत पनि २० वर्षमा हुने विकास पाँचौँ वर्षमा भएकाले र आउँदो समयमा पनि जिल्लामा विकासको लहर आउने बताए । चितवनको विकासलाई देशैभर नयाँ नमुनाका रुपमा प्रस्तुत गर्न सकिने उनको भनाइ थियो ।

नेकपा (एमाले) का नेता विजय सुवेदीले चितवनवासीका लागि यो समय महत्वपूर्ण अवसर भएको बताए । यसअघि पनि प्रधानमन्त्री दाहालले ठूला योजना ल्याएको स्मरण गर्दै उनले त्यतिबेला गर्न नभ्याएका आयोजनाले अब पूर्णता पाउने विश्वास व्यक्त गरे । नारायणी तटबन्ध जस्ता ठूला आयोजना उनले नल्याएको भए आउने थिएन भन्दै नेता सुवेदीले जिल्लावासीले यो अवसरलाई सदुपयोग गर्नुपर्ने बताए ।

विकासका लागि पूँजी र साधनस्रोत आवश्यक पर्ने भएकाले त्यसलाई जोड्न उनी प्रधानमन्त्री भएपछि अझै सहज भएको बताए । प्रधानमन्त्री दाहालको शिवनगरमा स्थायी घर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७