उषा राई हत्या प्रकरण : तीन जनालाई थुनामा पठाउने आदेश, तीन आरोपित महिला अझै फरार


१५ पुष २०७९, शुक्रबार
Hatya 1

सुनसरी । सुनसरी जिल्ला अदालतले धरान–१३ की एकल महिला उषा राईको कुटपिट र हत्या प्रकरणमा संलग्न आरोपितमध्ये तीन महिलालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अदालतले सो घटनामा संलग्न एक महिलालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

आरोपित एक महिला महिला रत्ना सुब्बालाई एकलाख धरौटी लिएर छोड्न आदेश गरेको धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) बुद्ध श्रेष्ठले जानकारी दिएका छन् । अदालतका न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलासले राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई थुनामा पठाउने आदेश दिएको हो ।

कुटपिटपछि उषाको उपचारका क्रममा मंसिर १३ गते मृत्यु भएको थियो । उनलाई आफ्नो पतिसँग नजिकिएको भन्दै ५५ वर्षीया उर्मिला राईले महिला समूह बोलाएर कात्तिक ३ गते कुटपिट गराएकी थिइन् । कुटपिटपछि अखाद्य रासायनिक झोल पदार्थ पनि खुवाइएकाले गम्भिर घाइते बनेकी उषाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि ‘उपचार खर्च पाउने गरी’ सामुदायिक प्रहरीमा मिलापत्र गरेका थिए । तर पुनः उनको स्वास्थ्यमा समस्या आएपछि प्रतिष्ठानमा भर्ना भएर आईसीयूमा राखेर उपचार गर्दागर्दै ज्यान गएको थियो ।

४५ वर्षीया उषाको पतिको दुई वर्षअघि मृत्यु भएको थियो । उनी २७ वर्षीया र ८ वर्षीया दुई छोरीसँग धरान १३ मा लुगा सिलाउने व्यावसाय गरी जीविका चलाउँदै आएकी थिइन् ।

उषाको मृत्युपछि उनका देवरले किटानी जाहेरी दिएका थिए । पक्राउ परेका महिलाहरूमध्ये तीन जनालाई घटनास्थिति मुचुल्का र प्रत्यक्षदर्शी, दृश्य सामग्रीलगायत आधारमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउन र एक जनालाई धरौटीमा छोड्न आदेश दिएको हो । तीनै जनालाई झुम्का कारागारमा पुर्पक्षका लागि पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७