अध्यक्ष नेपाललाई कसैले पनि राष्ट्रपतिका लागि प्रस्ताव गरेको छैन : नेकपा एस


१६ पुष २०७९, शनिबार
jagannath khatiwada
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भावी राष्ट्रपतिको रुपमा चर्चा गरिए पनि हालसम्म कसैले प्रस्ताव नगरेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा जारी पार्टीको १४ औं स्थायी कमिटी बैठकको बीचमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले अध्यक्ष नेपाल राष्ट्रपति बन्ने हल्ला निराधार रहेको प्रष्ट पारेका हुन् ।

उनले भने, ‘पार्टी अध्यक्ष नेपालसँग राष्ट्रपतिको लागि कसैले प्रस्ताव गरेको छैन । अहिले चलेका हल्ला निराधार हुन् ।’ उनले पार्टी एकीकरण वा विलय गराउनेबारेमा कुनै काम नगरेको र त्यसबारेमा रुची पनि नरहेको पनि प्रष्ट पारे । बाम एकता गर्ने, एजेण्डाका आधारमा एकता गर्नेमा भने अलिकति रुची रहेको उनले बताए । पार्टीको संगठनलाई सुदृढ बनाउने योेजनामा रहेको बताउँदै खतिवडाले थपे, ‘यो वा त्यो आधारमा फलानो पार्टीसँग एकीकरण हुँदैछ भन्ने कुरा निराधार हल्ला मात्र हो । आम जनतालाई म यही कुरा सुसुचित गर्न चाहन्छु ।’

बिहान ११ बजेदेखि जारी बैठकमा अध्यक्ष नेपालले अहिलेको परिस्थितिमा पार्टीको आगामी बाटोका बारेमा स्थायी कमिटी सदस्यको राय लिइरहेका छन् । अहिलको सन्र्दभमा संगठन सुदृढीकरण कसरी गर्ने, पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा छलफल भइरहेको प्रवक्ता खतिवडाले जानकारी दिए ।

बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टी निर्माणमा अवको कार्यदिशा भन्ने बारेमा मन्तब्य राखेका छन् । उनले सशक्त संगठन भएको, युवाहरुको सहभागिता भएको पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए । पार्टीका महासचिव बेदुराम भुसालले पार्टी संगठनलाई अगाडि बढाउन के कस्तो भूमिका खेल्नुपर्छ भन्ने कुरामा जोड दिएका छन् । स्थायी कमिटी सदस्यहरुले सरकारमा जाने वा नजानेबारेमा, कसैले संगठनको बारेमा आफ्नो विचार राखेका छन् ।

सरकारमा जादा राम्रा नराम्रा पक्षहरु, गठबन्धन के कारण र कसको कमजोरीका कारण तोडियो, नयाँ बनिरहेको सरकारप्रतिको पार्टीको धारणा के हुने भन्नेबारेमा छलफल भइरहेको हो । सरकारमा जाने वा नजानेबारेमा आजको बैठकपछि पोलिटब्यूरो बैठकसम्म पुगेर निर्णय लिनसक्ने अवस्था बन्ने खतिवडाले बताए । बैठक भोलिसम्म चल्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७