सरकारमा जाने–नजाने आज एकीकृत समाजवादीले निर्णय गर्ने


१७ पुष २०७९, आईतवार
Samajbadi
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज (आइतबार) सरकारमा जाने वा नजानेबारे निर्णय गर्ने भएको छ । पार्टीको हिजो (शनिबार) को स्थायी कमिटी बैठकमा नेताहरूले बोल्ने क्रम शुरु भएको र सरकारबारे आज (आइतबार) निर्णय हुने नेताहरूले बताएका थिए ।

सरकारबारे ‘पर्ख र हेर’ को नीति लिएको समाजवादीले स्थायी कमिटी बैठकबाट सरकारमा सहभागिताबारे निर्णय गर्ने जनाइएको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागिताबारे अहिलेसम्म निर्णय भइनसकेको बताएका छन् ।
एकीकृत समाजवादीमा सरकारमा जानेबारे पार्टीमा दुई थरी मत छन् ।

एकीकृत समाजवादीका सांसद तथा नेताहरुले नयाँ सत्ता गठबन्धनमा सामेल हुनुपर्ने भन्दै अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाललाई दबाब दिइरहेका छन् । सांसदहरू सरकारमा गएर पार्टीलाई बलियो बनाउनु पर्ने मत राख्दै आएका छन् । तर, चुनाव हारेका र सांसद नरहेका नेताहरू भने सरकारमा नगई पार्टी निर्माणमा लाग्नुपर्ने मत राख्दै आएका छन् ।

स्थायी कमिटी बैठकमा अध्यक्ष माधव नेपालले समयमा विचार नगर्दा राष्ट्रिय राजनीतिमा अप्रत्यासित घटना भएको भन्दै पार्टीले ठोस निर्णय गर्नुपर्ने बताएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि सरकारलाई दिने समर्थन र सहभागिताको विषयलाई टुंगो लगाउन बैठक बोलाइएको हो ।

एकीकृत समाजवादी पार्टी गत मंसिर ४ गते भएको निर्वाचनमा राष्ट्रिय पार्टी बन्न सकेको छैन । कतिपयले एकीकृत समाजवादीका नेतृत्वले पार्टी विघटनको औचित्य पुष्टि गर्न नसकेकाले यस्तो अवस्था आएको बताएका छन् । एमाले नेतृत्वमा नयाँ सत्ता गठबन्धनमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७