थातथलोको मोहले फर्कायो खुसी


२० पुष २०७९, बुधबार
khushi 1YFwoTDIkh

धनकुटा । पुर्खा तथा थातथलोको मोह र सम्मान कतिसम्म रहन्छ भन्ने उदाहरणीय घटना धनकुटामा भएको छ । जन्मथलोको मात्र होइन थातथलो हेर्ने र परिवारमा पुनर्मिलन हुने चाहले ८१ वर्षीय वृद्ध गङ्गाप्रसाद पोखरेललाई १०७ वर्षपछि म्यानमारबाट धनकुटाको चुङ्माङसम्मको यात्रा गराएको हो ।

गङ्गाप्रसाद नेपालमा होइन म्यानमारमा जन्मिए, उतै हुर्किए र जिन्दगीको ८१ वर्ष म्यानमारमै बिताए। केही दिनअघि भने उनी धनकुटाको पाख्रिवास नगरपालिका–१०, चुङ्माङ आइपुगेका छन्, जुन उनको पुर्खाको जन्मभूमि हो ।

पाको उमेरको समेत परवाह नगरी जीवनको उत्तराद्र्धमा आउनुको कारण दर्शाउँदै पोखरेलले भने, ‘यो एक तीर्थस्थल हो, म यहाँ तीर्थको दर्शन गर्न आएको हुँ । यहाँ आएर मैले पुर्खाले खेलेको, हुर्केको, कुदेको कल्पना गर्न पाएँ ।’ बच्चादेखि नै यस ठाउँका बारेमा बुवाबाट सुने पनि ८१ वर्षको उमेरमा आफ्नै आँखाले देख्न र खुट्टाले टेक्न पाउँदा असाध्यै खुसी लागेको पोखरेलको भनाइ छ ।

यसरी आर्थिक, सामाजिक तथा अन्य परिवेश देखाउँदै गाउँघर तथा देश छाड्ने प्रचलन बढ्दै गएको अहिलेको सन्दर्भमा जन्मभूमिको महत्व कति हुँदो रहेछ भन्ने उदाहरण बनेका छन् ८१ वर्षीय पोखरेल । गङ्गाप्रसाद स्थानीय मोहनलाल पोखरेलका नाति हुन् । मोहनलालका तीन छोरामध्ये दुई भाइ चुङ्माङमै रहे।

कान्छा छोरा चन्द्रकान्त भने विसं। १९७२ सालमा म्यानमारतर्फ लागे । जतिबेला उनी १५ वर्षको मात्रै थिए । गङ्गाप्रसाद उनै चन्द्रकान्तका छोरा हुन् । चन्द्रकान्त म्यानमारतर्फ लागे पनि नेपालमा रहेका दाजुभाइ र परिवारका अन्य सदस्यलाई उहाँ कहाँ गएको भन्ने थाहा थिएन तर चन्द्रकान्तले भने म्यानमार पुगेर उतै घरजम गरिसकेका थिए ।

चन्द्रकान्तले समेत जीवनको उत्तराद्र्धमा नेपाललाई धेरै सम्झिएको भए पनि फेरि फर्केर आउन भने नपाएको छोरा गङ्गाप्रसादले बताए । बुवाले चर्चा गरेकै कारण पनि आफूलाई नेपाल आउने इच्छा पलाएको तर जीवनको उत्तराद्र्धमा मात्रै यो अवसर जुरेको उनले बताए ।

नेपाल आएपछि ठूलोबुवा लोकनाथ पोखरेलका परिवारसँग उनको भेट भयो । यो दुई परिवारको १०७ वर्षपछिको भेट थियो । यता १०७ वर्षपछि भेट हुँदा ठूलो बुवाका छोरा दाजु चूडामणि पोखरेलको भने मृत्यु भइसकेको थियो तर भाउजू, भतिजाभतिजीसँग भेट भयो, उहाँहरू पनि चुङ्माङ बसाइँ सरेर झापा गइसकेका थिए । गङ्गाप्रसाद त्यही पत्ता लगाएर सिधै झापा जानुभयो र झापाबाट पुख्र्यौली थलो चुङ्माङ हेर्न आए । नेपालमा रहने लोकनाथ पोखरेलका परिवारले भने चन्द्रकान्तका परिवार हराएको वर्षौं हुँदा समेत सम्पर्क तथा भेटघाट नभएकाले चन्द्रकान्तको परिवार नै छैन । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७