चिसो बढेपछि सुनसान छ ढोरपाटनको बुकी क्षेत्र


४ माघ २०७९, बुधबार
DHorpatan baglung
डोरपाटन : फाइल फोटो

बागलुङ । छ महिनासम्म वस्तुभाउ र मानिसको चहलपल हुने बुकी सुनसान भएको छ । थेगिनसक्नु चिसो बढेपछि ढोरपाटन सिकार आरक्षको माथिल्लो भाग बुकी क्षेत्र सुनसान भएको हो । बुकीकै भरमा गाईवस्तु र भेडाबाख्रा पाल्ने किसानले बुकी छाडेपछि सुनसान बनेको हो ।

बुकीमा हरियो घाँस पलाउनेदेखि नसकिने बेलासम्म यहाँका किसानले वस्तुभाउ लिएर उतै बस्छन् । जेठ पहिलो सातादेखि बुकी चढेकाहरुले छ महिना यहाँका अस्थायी टहरामा रात कटाउँछन् । घरबाट निस्कने बेला नै छ महिनालाई पुग्ने खर्च लिएर बुकी उक्लेका किसानको खर्च सकिएसँगै चिसो बढेपछि बुकी सुनसान भएको हो । ढोरपाटन घट्टेचौरका पशुपालक कृषक भीमबहादुर विकका अनुसार बुकीका गोठाला, गाईवस्तु र भेडाबाख्रा बँेसी झरेका छन् । ‘बुकी भएपछि हतपत तल झर्ने कुरा हुँदैन, बन्दोबस्ती सबै गरेर जानुपर्छ’, उनले भने, ‘चिसो बढेपछि गोठ लिएर बेँसी झर्नै पर्छ ।’

बर्खायामका छ महिना कुनै आकस्मिक समस्या र बिरामी परे मात्रै साथी गोठालालाई आफ्नो पशु हेर्ने जिम्मेवारी दिएर गाउँ फर्कने विकले बताए । छ महिनाको अवधिमा हुने पशुजन्य उत्पादन दूधलाई घीउ तथा मासुलाई सुकुटी बनाउने गरिएको उनले बताए । यहाँका किसानको आम्दानीको मुख्य स्रोत पशुपालन हो । बुकी क्षेत्रमा जन्मने पाडा-बाच्छा तथा पाठापाठी गाउँ फर्कने बेलामा हुर्किसकेका हुन्छन् ।

हरियो घाँस सकिँदै जाने र जाडो सुरु भएपछि सबै वस्तुभाउ लिएर ढोरपाटन उपत्यका झर्ने पाखाथरका पशुपालक कृषक डिल्ली भण्डारीले बताए । जाडो सुरु भएपछि गोठालाको घुम्ती बसाइ गाउँमा झरेको छ । गर्मी महिनामा बुकी, मध्यम मौसममा ढोरपाटन उपत्यका र जाडो मौसममा बोबाङका गाउँ क्षेत्रमा गोठाला वस्तुभाउसहित आउने र जाने गर्छन् ।

गर्मीमा गाउँ छाडेर बुकी र ढोरपाटन गएका गोठाला सम्पत्ति लिएर अधिकारीचौर बोवाङ, निसी, देवीस्थान, बुर्तिवाङ झरेपछि गाउँमा चहलपहल बढेको छ । बुकी र ढोरपाटन क्षेत्र सुनसान भएको ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्ती मगरले जानकारी दिए । पहिले बुकी चरणमा जाने गोठालाले वडा कार्यालयलाई तिरो दिने चलन थियो । वडाध्यक्ष घर्तीका अनुसार कृषकले एउटा गाईभैँसीको रु पचास र एउटा भेडा बाख्राको रु पाँच लिने गरिएको थियो ।

आफू वडाध्यक्ष निर्वाचित भएपछि कृषकलाई चरण क्षेत्रको तिरो लिन छाडिएको उनले बताए । ढोरपाटन क्षेत्रमा विद्यार्थीका अभिभावक, शिक्षक, कर्मचारी र सो क्षेत्रमा अन्य कुनै व्यापार व्यवसाय सञ्चालन गरेर बस्नेबाहेक कृषक तथा पशुपालन क्षेत्रमा आबद्ध स्थानीय तल्लो क्षेत्रमा झरेका छन् । हिउँदको बाली लगाउन गाई, भैँसी, भेडा लिएर तल झरेका किसान वैशाखमा फेरि बुकी जान्छन् ।

बुकीबाट झरेका वस्तुभाउलाई गोठालाले मलका लागि बारीमै छाड्ने गर्छन् । मल पुगेपछि खनजोत गरेर हिउँदे बाली लगाउने गरेको वडाध्यक्ष घर्तीले बताउनुभयो । मकै छरेपछि वैशाख १५ गतेदेखि ढोरपाटन क्षेत्र उक्लने ढोरवासी जेठ १ गतेदेखि ढोरपाटनको बुकी क्षेत्रमा पशुचौपाया लिएर जाने गरेको स्थानीय श्यामकुमार विकको भनाइ छ ।

गाउँ क्षेत्र, ढोरपाटन क्षेत्र र बुकी क्षेत्र गरी तीन क्षेत्रमा गोठालाले वर्ष गुजार्छन् । हिउँदमा हिमपात हुने र जाडो बढ्ने भएकाले जाडो छल्न बेँसी झरेको कृषकको भनाइ छ । ढोरपाटनका वडा नं ६, ७, ८ र ९ का बासिन्दाको मुख्य आयस्रोत आलु खेती र पशुजन्य उत्पादन हो । ढोरपाटन उपत्यकामा पनि चिढो बढ्दै गएपछि केही स्थानीय जाडो छल्न गाउँ तथा सहरी क्षेत्रमा झर्न थालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७