स्वास्थ्यमन्त्रीको चेतावनी : नर्सलाई न्यूनतम पारिश्रमिक नदिने अस्पताललाई कारबाही गर्छौं


१५ माघ २०७९, आईतवार
padam giri

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्समैत्री नीति बनाउन सक्रिय भूमिका खेल्ने बताएका छन् । बिरामीको सेवामा चौबिसै घण्टा खटिने नर्सहरूको सेवा–सुविधा वृद्धिका लागि भूमिका खेल्ने उनले बताएका हुन्ड । नेपाल नर्सिङ संघको ६१ औं वार्षिक उत्सव तथा राष्ट्रिय नर्स दिवसका अवसरमा काठमाडौंमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘नर्सहरुका समस्या पहिचान गरेर राज्यले न्यायोचित ढंगले सम्बोधन नगर्दा उनीहरुमा नैराश्यता उत्पन्न हुन्छ र समाजमा अन्य समस्या देखिन्छ,’ मन्त्री गिरीले भने, ‘नर्सहरूले एउटा लेभल पास गर्नुहुन्छ । मैले सुने ८-१० हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ । यो निकै चिन्ताको विषय हो । यसरी न्यूनतम तलब भत्ता पनि नदिइ श्रम शोषण गर्ने कुरा कुनै पनि हालतमा ठिक हुँदैन । त्यस्ता अस्पताल र निजी स्वास्थ्य संस्थाको राम्रो गरी अनुगमन हुनेछ र आवश्यक कारबाही हुन्छ । यसमा कुनै सम्झौता हुँदैन तथ्य र प्रमाण भेटियो भने नविकरण नगर्ने र खारेज गर्नेसम्म पनि हुनसक्छ,’उनले भने ।

संवेदनशिल पेशा भएकाले नर्सहरूमा धैर्यता जरुरी रहने उनले बताए । ‘तपाईंहरू यो पेशामा आउँदाखेरी नै यो पेशाका चुनौती के–के हुन् भन्ने थाहा पाएरै आउनु भएको छ । त्यसैले जस्तोसुकै बेलामा पनि धैर्याता चाहिन्छ । तपाईंहरुको सानो लापरबाहीले एकजनाको ज्यान जानसक्छ । उसका बालबच्चा टुहुरा हुनसक्छन् र आफन्तले परिवारको सदस्य गुमाउँछन् । त्यसैले नर्सहरुको काँधमा ठूलो अभिभारा हुन्छ,’ उनले भने ।

दक्ष नर्सहरू राम्रो सेवा–सुविधा पाएर विदेशमा रोजगारी गर्नु सकारात्मक पाटो रहेको उनले बताए । ‘हामी संसारको जुनसुकै कुनामा गएर भएपनि जागिर गर्दा हुन्छ । तर हामी दक्ष हुनुपर्यो । हामीले पाउने सेवा सुविधा त्यही मापदण्डको हुनुपर्यो । आज विदेशीहरू नेपालमा आएर जागिर खाइरहेका छन् । हामी पनि जान हुन्छ,’ उनले भने, ‘तर श्रमको न्युन मूल्य लिएर जाने कुरा उचित हुँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७