सन्दीप लामिछानेको निलम्बन फुकुवा


१७ माघ २०७९, मंगलवार
sandip pT5odkzA7g

पोखरा : नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । पोखरामा मंगलबार भएको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको हो ।

क्यानका बोर्ड सदस्य वीरेन्द्रबहादुर चन्दले उनीमाथिको प्रतिबन्ध हटाइएको जानकारी दिए । किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई गत २३ भदौ २०७९ मा निलम्बन गरेको थियो ।

२० असोजमा पक्राउ गरेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर उच्च अदालत, पाटनले उनलाई २८ पुसमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दिएको थियो ।

२९ पुसमा उनी रिहा भएसँगै क्यानले निलम्बन फुकुवाबारे छलफल थालेको थियो । पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

आजैमात्र सोही मुद्दामा क्रिकेटर लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।

क्यानका सात केन्द्रीय सदस्यद्वारा बैठक बहिष्कार
यसैबिच क्यानका सात जना केन्द्रीय सदस्यले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका छन् । पोखरामा आजदेखि क्यानको बैठक सुरु भएकामा असन्तुष्ट पक्षले कार्यसम्पादन समितिको राजीनामा माग्दै बैठक बहिष्कार गरेका हुन् । केही सदस्यले बैठक बहिष्कार गरेपछि साँझ मात्र क्यान बैठक सुरु भएको छ ।

बहिष्कार गरेका सदस्यले कार्यसम्पादन समितिको राजीनामाको माग गर्दै क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । असन्तुष्ट पक्षले आज साँझ पत्रकार सम्मेलन आयोजना गरी नेपाल क्रिकेट सङ्घ र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सबीच भएको सम्झौतापश्चात् नेपाली टी–२० लिगमा भएका विभिन्न अवाञ्छित गतिविधिबाट नेपाली क्रिकेटको बदनाम भएको दाबी गरिएको छ ।

क्यानको बोर्डमा १७ निर्वाचित र राखेपबाट मनोनीत दुई गरी १९ सदस्य दुई पदाधिकारीले यसअघिनै राजीनामा दिइसकेका छन् । बोर्ड बैठक बहिष्कार गर्ने केन्द्रीय सदस्यमा गौतमसहित दाउद अन्सारी, सञ्जयराज सिंह, करन महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्वी लामा र धर्मराज गिरी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७