‘स्लेट’ खानीलाई वैधानिक बनाउन अध्ययन


२१ माघ २०७९, शनिबार
Dhunga khani Baglung 1
फाइल फोटो

मयाग्दी । म्याग्दीमा रहेका ‘स्लेट’ ढुङ्गा खानीलाई वैधानिक बनाउन अध्ययन थालिएको छ । मालिका गाउँपालिकाको १, २ र ३ नं वडामा रहेका ढुङ्गाखानीलाई कानुन र करको दायरामा ल्याउन गण्डकी प्रदेश सरकारले पहल थालेको हो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली (सुविन) ले स्लेटखानीलाई वैधानिक बनाउन डिभिजन वन कार्यालय म्याग्दीमार्फत अध्ययन थालिएको जानकारी दिए ।

‘घर तथा भवनमा प्रयोग हुने टायलको विकल्पमा म्याग्दीका खानीको स्लेटलाई प्रयोग गर्दा टायलका लागि बाहिरिने पुँजी रोकिने भएकाले वैधता दिलाउन अध्ययन थालिएको छ’, उनले भने, ‘स्थानीयले रोजगारी पाउने र राज्यको आयस्रोत बढाउन सकिन्छ ।’

वर्षौदेखि अव्यवस्थितरूपमा सञ्चालन हुँदै आएको ढुङ्गाखानीलाई बैधता दिन अध्ययनसँगै स्थानीय तह र सङ्घीय सरकारका निकायसँग छलफल अघि बढाएको मन्त्री जुग्जालीले बताए । करिब तीन सय जना आश्रित ढुङ्गा खानीले वैैधता नपाउँदा उत्खनन भएको स्लेट निकासीमा समस्या र राज्यको आम्दानी गुमेको छ । मजदुरले लाभ लिने, व्यापारीलाई सास्ती र झन्झट नहुने, सरकारलाई आम्दानी हुने तथा वातावरणीय असर कम हुने गरी खानी सञ्चालनको अवधारणा अघि सारिएको छ ।

तीन वटा वडाको भूगोलमा ११ वटा स्लेट खानी छन् । त्यहाँको खानीको ढुङ्गा घर, भवन छाउन, भुइँमा बिछ्याउन प्रयोग हुन्छ । पातलो, हलुका, आकर्षक देखिने र टायलभन्दा सस्तो पर्ने भएकाले देशका विभिन्न ठाउँबाट रुमको स्लेटका माग आउने गर्छ । खानीले वैधानिकता नपाउँदा स्लेट स्थानीय उपभोगमा मात्र सीमित भएको मालिका–२ का वडाध्यक्ष उदय बुढाथोकीले बताए ।

‘मालिकाको खानीको ढुङ्गाबाट छिमेकी ताराखोला गाउँपालिकाले करोडौं राजस्व उठाएको तर म्याग्दीको बाटो भएर पोखरा–काठमाडौँ लैजाँदा लाखौँ खर्चनुपर्ने र दुःख पाउने अवस्था छ’, उनले भने, ‘व्यावसायिक, व्यवस्थित र वैधानिकरूपमा खानी सञ्चालन गर्न सङ्घीय, प्रदेश सरकारसँग समन्वय गरेका छौँ ।’

डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले स्थलगतरूपमा खानीको निरीक्षण गरिएको बताए । समस्या पहिचान गरी खानीलाई व्यवस्थित र वैधानिक बनाउन कानुनी, प्रक्रियागत र वातावरणीय हिसाबले अध्ययन भइरहेको उनले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७