नेपाललाई साढे सात अर्ब सहयोग गर्ने युएसएआईडी प्रमुख सामन्थाको घोषणा


२४ माघ २०७९, मंगलवार
samantha
फाइल फोटो

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रशासक सामन्था पावरले नेपाललाई ५ करोड ८५ लाख अमेरिकी डलर (साढे ७ अर्ब रुपैयाँभन्दा बढी) रकम सहयोग प्रदान गर्ने घोषणा गरेकी छन् ।

उक्त रकम नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरू माझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन खर्च हुने जनाइएको छ । उक्त घोषणाको रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो ।

प्रशासक पावरले यसै वर्ष पारदर्शी तथा शान्तिपूर्ण आमनिर्वाचन सम्पन्न भएसँगै सङ्घीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायहरूको समावेशीकरणलाई अगाडि बढाउने, आफ्ना युवाहरूको सशक्तिकरण गर्ने र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग रहेको जनाइन् । यस कार्यमा अमेरिकाको साझेदारी रहने उनको भनाइ छ ।

‘युएसएआइडीका लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धिहरू मजबुत पार्न र नेपालीहरूका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्नेछन्,’ पावरले भनिन्, ‘मानव बेचबिखनविरुद्ध लड्न नेपाललाई सहयोग गर्न पनि युएसएआइडीले जारी राख्ने छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७