साहित्यकारद्वय मुकारुङ र ओझालाई सम्मान


२७ माघ २०७९, शुक्रबार
sahityakar samman

पाँचथर । यस वर्षको अमर नेम्बाङ लिम्बू स्मृति स्रष्टा सम्मानबाट साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझा सम्मानित भएका छन् । अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले बर्सेनि प्रदान गर्दै आएको ५० हजार राशिसहितको उक्त सम्मानबाट मुकारुङ र ओझा सम्मानित भएका हुन् ।

बिहीबार पाँचथरको फिदिममा प्रतिष्ठान र याक्थुङ लेखक संघले आयोजना गरेको स्व लिम्बूको चौथो स्मृति दिवस, स्रष्टा सम्मान तथा पुस्तक लोकार्पण कार्यक्रममा स्रष्टाद्वयलाई सम्मान गरिएको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रथम अध्यक्ष अमरकुमार नेम्बाङको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले स्रष्टाद्वयलाई सम्मानपत्र र दोसल्लाले सम्मान व्यक्त गरेका थिए ।

भोजपुर घर भएका मुकारुङ काठमाडौंमा बसेर साहित्य साधनामा संलग्न छन् भने ओझा पाँचथरको फिदिममा रहेर साहित्यिक लेखन, प्राध्यापन तथा सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । सम्मान ग्रहणपछि मुकारुङले अमरकुमार नेम्बाङ जस्तो शिखर व्यक्तित्वका नामको सम्मान प्राप्त गर्न पाउँदा आफूलाई खुसी लागेको बताए ।

प्रतिष्ठानले स्रष्टा सम्मानबाट २०७८ मा शारदा सुब्बा र बिना थिङ, २०७७ मा प्रा डा गोविन्दराज भट्टराई र वीर नेम्वाङ तथा २०७६ मा डा. देवी क्षेत्री दुलाल र मुनाराज शेर्मालाई सम्मान गरेको थियो । कार्यक्रममा कवि समदर्शी काँइलाको कविता सङ्ग्रह ‘नयाँ ईश्वरको अवतार’ विमोचन गरिएको थियो । कृतिमाथि पाँचथर बहुमुखी क्याम्पसका सहप्राध्यापक खड्गनारायण आङ्देम्बेले समीक्षा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७