पुलिसका प्रिन्स र एपीएफकी जेसिका च्याम्पियन


२९ माघ २०७९, आईतवार
jesika

सुनसरी । नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र एपीएफ क्लबकी जेसिका गुरुङले प्रथम मुख्यमन्त्री राष्ट्रिय र्‍याङकिङ खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

प्रिन्सले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २३–२१, २१–१५ को सोझो सेटमा हराएर ५० हजार रुपैयाँसहित ट्रफी जिते । उपविजेता प्रफुलले २५ हजार पाए । पुलिसका विष्णु कटुवाल र आर्मीका रुकेश महर्जन तेस्रो स्थानमा रहे । दुवैले समान १० हजार थापे । प्रिन्सले डबल्समा पनि उपाधि जिते । उनले विष्णुसँग मिलेर प्रफुल र रुकेश महर्जनको जोडीलाई १९–२१, २१–१३, २१–१४ ले हराएका थिए । विजेता जोडीले ३० हजार जित्यो ।

महिला एकलमा जेसिकाले आर्मीकी अमिता गिरीलाई २१–८, २१–१५ ले पराजित गरिन् । उनले ५० हजार जितिन् । अमिताले २५ हजार पाइन् । आर्मीकी रसिला महर्जन र कस्तुरी कलेजकी सीमा राजवंशीले तेस्रो हुँदै समान १० हजार पाए । डबल्समा भने जेसिका पराजित रहिन् ।

आर्मीकी अमिता गिरी र रसिला महर्जनको जोडीसँग जेसिका र सुनयना मुखियाको जोडी २१–१०, २१–९ ले पराजित भएको थियो । सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको मिक्स्ड डबल्समा आर्मीका प्रफुल र रसिलाको जोडीले आफ्नै क्लबका पविन लिनथेप र अनुमाया राईको जोडीलाई २१–१०, २१–८ ले पराजित गर्दै उपाधि जित्यो ।

भेट्रान ४५ वर्षमाथि सागर फिडका भजनलाल चौधरी र श्याम लामाको जोडी विजयी भयो । ५५ वर्षमाथि धादिङका बिष्णुलाल श्रेष्ठले गुवाहाटीका वास्तव नियोगसँग मिलेर उपाधि जिते ।

छात्र यू–११ तर्फ एपीएफका आरुस सिम्खडाले भोजपुरका तयाबुङ राईलाई २१–१०, २१–१३ ले पराजित गर्दै उपाधि जिते । छात्रातर्फ कास्कीकी निभा राई विजयी भइन् । भोजपुरकी रितु तामाङ खुट्टामा चोट बोक्दै रिटायर्ड हर्ट भएपछि निभाको जित सजिलो भयो । यू–१३ तर्फ आर्मीका रिजन मगरले एपीएफका आरुस सिम्खडालाई २१–१७, २१–१२ ले हराएर उपाधि उचाले । छात्रातर्फ आर्मीकी रिहाना शेरचन विजयी भइन् । टिसारानी शाक्य रिटायर्ड हर्ट भएपछि रिहानाले सहजै खेल जितिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७