हात्तीको आक्रमणबाट वृद्धा घाइते, स्थानीयद्वारा आरक्षको चेकपोष्ट तोडफोड


८ फाल्गुन २०७९, सोमबार
Ghaite

मकवानपुर । जंगली हात्तीको आक्रमणबाट एक वृद्धा घाइते भएपछि आक्रोशित स्थानीयले पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत मनहरी गाउँपालिका–३ लामिटारमा रहेको लामिटार चेकपोष्टमा तोडफोड गरेका छन् । हात्तीले वृद्धालाई आक्रमण गरेसँगै आक्रोशित स्थानीयले निकुञ्जका कर्मचारी र नेपाली सेना बस्दै आएको पोष्टमा तोडफोड गरेका हुन् ।

1676880138 ghaaite 1200x560 1
हात्ती आक्रमणबाट घाइते वृद्धाको उपचार हुँदै

आक्रोशित स्थानीयको तोडफोडबाट सेनाले प्रयोग गर्दै आएको गाडीसहित कार्यालय र गोलघरमा क्षति पुगेको छ। पोष्ट नजिकै स्थानीयले आगजनी समेत गरेका छन् । हात्ती लखेट्न र धनजनको क्षति हुन नदिन कुनै भूमिका नखेलेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् । मान्छेलाई आक्रमण गर्दा समेत कुनै वास्ता नगरेको र निकुञ्जले मानिसलाई भन्दा जनावरलाई बढी महत्व दिएको भन्दै आक्रोशित स्थानीयले नाराबाजी समेत गरेका छन् ।

1676880213 hatti

मकवानपुरको मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्रमा जंगली हात्तीले आइतबार साँझबाट आतंक मच्चाएको थियो । आइतबार साँझ त्यस क्षेत्रमा देखा परेको हात्तीको आक्रमणबाट सोमबार बिहान एक वृद्धा घाइते भएकी हुन् । करेसाबारीमा काम गरिरहेकी मनहरी गाउँपालिका–४ मसिनेकी ६४ वर्षीया राधा अधिकारीलाई हात्तीले आक्रमण गरेको हो ।

wild elephant attack makawanpur2023 02 20 01 34 10

घाइते अधिकारीको हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । अघिल्लो बर्षपनि यसै क्षेत्रमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको थियो । पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्यालले केही दिन यता हाँडीखोला क्षेत्रमा तीनवटा हात्ती देखा परेको र त्यसले स्थानीयलाई हानी पु¥याइरहेको जानकारी दिए ।

‘हात्तीले स्थानीयको घर भत्काउने, बाली नष्ट गर्ने गरिरहेको छ । हात्ती नियन्त्रणका लागि सेना खटाइएको छ’, उनले भने, ‘मनहरीको प्रतापपुरदेखि हाँडीखोला सम्म क्षति पुर्‍याइरहेको छ ।’ उनले साँझ बिहान घर बाहिर ननिस्किन समेत सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यसैबीच मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले हात्ती नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुञ्जसँग समन्वय गरिरहेको जानकारी दिए । ‘अघिल्लो पटक पनि जेसिबी लगाएर लखेटेका हौं, मानिसले लखट्दा नमान्ने भएकोले यसो गरेका हौं’, कालाखेतीले भने, ‘थप धनजनको क्षति हुन नदिनेतर्फ गाउँपालिकाले भूमिका खेलिरहेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७