संस्कृतिको सम्मान गर्नु नेपालीको पहिचान : सभामुख घिमिरे


९ फाल्गुन २०७९, मंगलवार
Devraj Ghimire speaker2023 01 30 05 40 27

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जातजातिको धर्म, संस्कार र संस्कृतिको सम्मान गर्नु नेपालीको पहिचान भएको बताएका छन् ।

शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको नयाँ वर्ष (ग्याल्पो ल्होसार)का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्दै उनले सो कुरा व्यक्त गरेका हुन् ।

‘संविधानले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरेको छ’, यस पर्वले नेपालीका सबै चाडपर्व, भाषा, वेशभूषा, धर्म, संस्कृति र परम्पराको संरक्षण र सम्वर्द्धन गर्न हामी सबैलाई थप हौसला प्रदान गरोस् भन्ने कामना गर्दछु’, सन्देशमा भनिएको छ ।

ग्याल्पो ल्होसार पर्वले नयाँ उत्साह र उमङ्ग छर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने उनको कामना छ ।

सभामुख घिमिरेले हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग रहेको उल्लेख गर्दै नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक रहेको बताए । नेपाली बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक रूपमा रहेका र विविधतायुक्त हाम्रो समाज नेपालको संविधानमा देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७