संकटका बीच कप्तान रोहितको अर्धशतक


९ फाल्गुन २०७९, मंगलवार
lig

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत कीर्तिपुरमा चलिरहेको त्रिदेशीय एक दिवसीय श्रृंखलाको अन्तिम खेलमा नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक पुरा गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि चौथो नम्बरमा क्रिजमा उत्रिउका रोहितले ५४ बलमा चार चौका र दुई छक्कासहित ५० रन पूरा गरेका हुन् ।

नेपालले २९.१ ओभरमा सात विकेट गुमाएर १२६ रन बनाएर खेलिरहेको छ । नेपालका ओपनरद्वय कुशल भुर्तेल एक तथा आसिफ शेख १२ रन जोडेर आउट हुँदा ज्ञानेन्द्र मल्ल २१ रन जोडेर पेभेलियन फर्केका छन् । यस्तै, कुशल मल्ल १७, सन्दीप जोरा एक, दीपेन्द्रसिंह ऐरी सात र सोमपाल कामी दुई रन बनाएर आउट भए । अहिले क्रिजमा रोहितसँगै सन्दीप लामिछाने दुई रन बनाएर खेलिरहेका छन् ।

स्कटल्यान्डका लागि मार्क वाटले सर्वाधिक तीन विकेट लिएका छन् । क्रिस ग्रिभिसले दुई तथा ब्रान्डोन म्याकमुलेन र माइकल लिस्कले एक–एक विकेट लिएका छन् । जितका लागि २०.५ ओभरमा ८७ रन आवश्यक छ । पहिलो इनिङमा जर्ज मन्जीको अर्धशतकप्रेरित स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २१३ रनको योगफल तयार गरेको थियो । नेपालको कसिलो बलिङसामू संघर्षरत स्कटल्यान्डले पहिलो विकेटका लागि ४२ रनको साझेदारी पाएको थियो । तर त्यसपछि लामो साझेदारी गर्न नसकेको स्कटल्यान्डले ठूलो योगफल बनाउन सकेन ।

स्कटल्यान्डका लागि ५० बलको सामना गरेका मन्जीले ९ चौका र दुई छक्कासहित ६० रनको इनिङ खेले। यस्तै, पाँचौं नम्बरमा क्रिजमा उत्रिएका विकेटकिपर–ब्याटर म्याथ्यु क्रसले ६३ बलमा चार चौका र एक छक्कासहित ४२ रन जोडे ।
त्यसबाहेक, ब्रान्डोन म्याकमुलेनले ३१, काइल कोइट्जरले २२ र क्रिस्टोफर म्याकब्राइडले २२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । नेपालका लागि स्पीनर सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर सर्वाधिक चार विकेट लिए । यस्तै, ९.१ ओभरमा ४२ रन खर्चिएका करण केसीले तीन तथा ललित राजवंशी र कुशल मल्ले एक विकेट लिए ।

यसअघि शुक्रबार भएको स्कटल्यान्डविरद्धको पहिलो एकदिवसीयमा नेपालले दुई सय ७५ रनको लक्ष्य पूरा गर्दै जित हासिल गरेको थियो । जारी श्रृंखलामा अपराजित नेपाल आजको खेल जित्दै शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ ।
नेपाललाई विश्वकपको ग्लोबल छनोटमा पुग्न योसहित नौ वटै खेल जित्नुपर्ने दबाब छ । नेपालले यो श्रृंखला लगत्तै यूएईमा घरेलु टिम र पपुवा न्यू गिनी (पीएनजी) सँग अर्को श्रृंखला खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७