सौखमा सीमित मोफसलको चित्रकला


१० फाल्गुन २०७९, बुधबार
Penting

धनकुटा । धनकुटाका ५४ वर्षीय चित्रकार मुकुन्द प्रयासले चित्रकला क्षेत्रमा काम गरेको २८ वर्ष भयो । तर उनलाई जिल्लामा सबैले चित्रकार होइन, कार्यक्रमका लागि ब्यानर, ब्याच, फोटोफ्रेमलगायता सामग्री बनाउने मान्छे भनेर चिन्दछन् ।

धनकुटा नगरपालिका–७ मा २०५१ सालदेखि रक–भा एण्ड क्राफ्ट सेन्टर चलाउँदै आएका प्रयास चित्रकलाबाट जीविकोपार्जन सम्भव नदेखेपछि व्यायसायीक क्षेत्रमा लागेको बताउँछन् । ‘मोफसलमा चित्रकलाको बजार छैन’, उनले भने, ‘चित्रकलाको चाहना जीवित राख्न कर्मसियल आर्टको सहारा लिनुपर्‍यो ।’

एउटा चित्र रु तीन सयदेखि रु १० हजारसम्म बेचेको प्रयास बताउँछन् । उनले हालसम्म करिब सात सयसम्म चित्र बनाइसकेका छन् । चित्रकलाबाट जीवन धान्न मुस्किल भएकाले यो आफ्ना लागि सौखमा सीमित भएको प्रयासको भनाइ छ ।

त्यस्तै अर्का चित्रकार डिल्लीराम आले पनि चित्रकला जीवन चलाउनका लागि भन्दा पनि कलाप्रतिको चाहना जीवित राख्न सौखका लागि यसमा लागेको बताउँछन् । धनकुटा नगरपालिका–६ का ६८ वर्षीय आलेले २० वर्षको निजामती सेवामा कार्यरत रहँदादेखि चित्रकलाको क्षेत्रमा काम गर्दै आएका हुन् ।

विसं २०७३ मा सेवानिवृत्त भएपछि आले यसलाई पेसाका रूपमा अँगालेर विभिन्न प्रदर्शनी र बालबालिकालाई चित्रकला सिकाउँदै आएका छन् । हालसम्म पाँच हजारभन्दा बढी चित्र बनाइसकेका उनी भन्छन्, ‘यसबाट जीविका चल्दैन, तर सौखका लागि मात्र चित्र बनाउँछु ।’

चित्रकलाको विषयमा बुझाउन नसक्दा यो ओझेलमा परेको आलेको बुझाइ छ । दुई चित्रकारको जस्तै ३० वर्षदेखि यस क्षेत्रमा कार्यरत धनकुटा नगरपालिका–६ का ४६ वर्षीय सुशील क्षेष्ठको अनुवभ । १६ वर्षको उमेरबाट चित्रकलातर्फ आकिर्षत भएका श्रेष्ठले यसबाट जीविकोपार्जन नभएपछि २०७६ सालदेखि कमर्सियल आर्टको क्षेत्रमा लागेको बताए । हाल सुशील आर्ट सेन्टरको सञ्चालक रहेका श्रेष्ठले भने, ‘सुरुमा सौखले चित्रकलामा लागियो ।’

हालसम्म एक सय ५० को हाराहारीमा चित्र बनाएका श्रेष्ठले जिल्लामा फाट्टफुट्ट मात्र चित्रको माग आउने र त्यो पनि महँगो भयो भन्नेर गुनासो गर्ने गरेको सुनाए । काठमाडौँलगायत ठूला सहरमा चित्रकलाको बजार भए पनि जिल्लामा कला क्षेत्रको प्रचार–प्रसार गर्न नसक्दा बजार अभाव भएको उनको भनाइ छ ।

चित्रकलासम्बन्धी अध्ययन गरिरहेका धनकुटा–६ का सञ्जय धिताल पनि सौखका लागि अध्ययन र चित्रकलामा लागेको बताउँछन् । चित्रकला गहन विषय भएकाले यसबारे सर्वसाधारणलाई बुझाउन कठिन भएको उनले बताए । ‘चित्रकलाबाट समाजलाई जीवनदर्शन सिकाउन सकिन्छ कि भनेर यस क्षेत्रमा लागेको हुँ’, धिताले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७