नेपाली प्रशासनलाई थाहै नदिइ महाकाली नदीमा एसएसबीको र्‍याफ्टिङ


१४ फाल्गुन २०७९, आईतवार
rafting ssb ns1FeHmH14

कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल एसएसबीले महाकाली नदीमा विपद् प्रतिकार्य र खोज उद्धार अभ्यासको नाममा र्‍याफ्टिङ गरेको छ । भारतीय पक्षले अन्तर्राष्ट्रिय कानुन विपरीत स्थानीय प्रशासनलाई जानकारी नै नदिई र्‍याफ्टिङ गरेको हो ।

कुनै जानकारी र समन्वय विना र्‍याफ्टिङ गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारत पिथौरागढका डीएम रिना जोशीलाई पत्राचार गरेको छ । पत्रमा र्‍याफ्टिङको विषयमा जानकारी दिन र सीमा क्षेत्रमा अबदेखि यस्तो नगर्न भनिएको छ ।

नेपाली प्रशासनको समन्वयविना महाकालीमा एसएसबीको गतिविधि किन गरियो भनेर दार्चुला प्रशासनले पिथौरागढ प्रशासनसँग जवाफ मागे पनि भारतीय प्रशासनले जवाफ दिएको छैन । सीमा क्षेत्रका सुरक्षा निकायका प्रमुखको नियमित बैठकमा पनि एसएसबीले महाकाली नदीमा गरिरहेको र्‍याफ्टिङका विषयमा नेपाली पक्षले आपत्ति जनाएको छ ।

पिथौरागढको झुलाघाटमा रहेको एसएसबीको शिविरमा भएको बैठकमा बैतडी प्रशासनले पूर्व जानकारी र समन्वय गरेर मात्र यस्ता गतिविधि गर्न भनेको छ । भारतीय पक्षले अबदेखि समन्वय गर्ने बताएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिएका छन् । सीमा क्षेत्रमा कुनै पनि गतिविधि गर्नु पहिले दुवै देशको अनुमति र समन्वय हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७