सहयात्रीलाई धोका दिएर राष्ट्रपति पद ओगट्न चाहिनँ : माधव नेपाल

‘पूर्व प्रधानमन्त्रीहरू ६ कुरामा ‘फोकस’ भए सरकार र समाजलाई सहयोग पुग्छ’


२० फाल्गुन २०७९, शनिबार
Madhav Nepal

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशभरका कम्युनिष्ट पार्टीहरूलाई मिलाउन आफूहरूले आठ दलीय गठबन्धनलाई बलियो बनाउने नीति लिएको बताएका छन् ।

नेकपा समाजवादी निकट दलित मुक्ति संगठनको बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेबाट राष्ट्रपतिको अफर आए पनि राजनीतिक स्थायित्व र मित्र शक्तिहरूलाई धोका नदिनका लागि सो प्रस्ताव अस्वीकार गरेको बताएका छन् । अध्यक्ष नेपालले सहयात्रीलाई धोका दिएर पद ओगट्ने भन्दा पनि राजनीतिक इमानदारी देखाएको बताएका छन् । नेपालले कांग्रेसमा राजनीतिक इमानदारी रहेको र विगतमा पनि महत्वपूर्ण बेला कांग्रेसले साथ दिएको बताए ।

‘हामी देशभरका कम्युनिष्टलाई मिलाउन यो सरकारलाई दृढतापूर्वक समर्थन गर्छौ । तर हामी कुनै पार्टीमा गएर समाहित हुँदैनौ । हाम्रो बेग्लै भूमिका छ । यो सरकारलाई समर्थन रहेको सन्दर्भमा आठ दलीय गठबन्धनलाई हामी बलियो बनाउँछौँ र कम्युनिष्टहरूलाई एकजुट पनि पार्छौ’, उनले भने । नेपालले आफूले नेकपा एमाले ,माओवादी र नेकपा एसलाई एकताबद्ध बनाउन विगतको नेकपा ब्युँताउने प्रस्ताव राखेको समेत बताएका छन् ।
‘पूर्व प्रधानमन्त्री ६ कुरामा ‘फोकस’ भए सरकार र समाजलाई सहयोग पुग्छ’
अध्यक्ष माधवकुमार नेपालले पूर्व प्रधानमन्त्रीले आफ्नो क्षमता र सीपलाई देश विकासका लागि खर्चिनुपर्ने बताएका छन् । उनले आफूले पूर्व प्रधानमन्त्रीको संगठन बनाएर काम गर्न सकिने योजना बनाएको बताएका छन् । पूर्व प्रधानमन्त्रीको संगठनले ६ कुरामा फोकस गरेर काम गर्नुपर्ने आफ्नो सुझाव रहेको पनि उनले बताए ।

उनले भने, ‘अनुभव प्राप्त गरेका देशका पूर्व प्रधानमन्त्रीहरू देशका सम्पत्ति हुन् । अनुभवका खानी पनि हुन् । उनीहरूको व्यक्तित्व पनि छ । मैले सम्झिएको थिए, यी पूर्व प्रधानमन्त्रीहरू ६ कुरामा फोकस भए सरकार र समाजलाई फाइदा हुने थियो ।’

नेपालले पूर्व प्रधानमन्त्रीले देशको विकासका लागि काम गर्ने ६ एजेण्डामा आर्थिक विकास, सुशासन, छुवाछुत मुक्त अभियान तथा महिला हिंसा न्यूनीकरण, भ्रष्टाचार नियन्त्रण, देशको समृद्धि र असंलग्न राष्ट्रका पक्षमा काम गर्नेछन् । पूर्व प्रधानमन्त्री एक ठाउँमा भेला भएर यी कदम चाले सामाजिक रुपान्तरणमा टेवा पुग्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७