पशुचौपाया र मानिस अलग राख्न किसानलाई गोठ


३० फाल्गुन २०७९, मंगलवार
cow
फाइल फोटो

जाजरकोट । घरको माथिल्लो तलामा मानिस र तल्लो तलामा पशुचौपायाको गोठ बनाएर दैनिकी चलाइरहेका बारेकोट गाउँपालिकाका किसानले अब छुट्टै गोठ पाउने भएका छन् ।

मानव स्वास्थ्यका हिसाबले अत्यन्तै प्रतिकूल पर्ने भन्दै बारेकोट गाउँपालिकाले विपन्न तथा गरिबीको रेखामुनि रहेका सर्वसाधारणलाई अनुदानमा गोठ बनाउने नीति ल्याएको हो । गोठ निर्माण गर्न रू एक लाखसम्म माग भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । गाउँपालिकाका अधिकांश किसानको घरको माथिल्लो तलामा मानिस र तल्लो तलामा पशु चौपाय पालनका लागि गोठ रहने गरेको छ । गोठ र मानिस एकै घरमा रहने भएपछि जनस्वास्थ्य समेत प्रतिकूल असर पर्ने गरेको अध्यक्ष गिरीको भनाइ छ । गाउँपालिकामा तीन हजार पाँच सय ५७ घर घरधुरी छन् ।

गाई, गोरु, भैँसी, बाख्रा, भेडा र घोडाहरु तल्लो तलामा बाँधेर राख्ने र माथिल्लो तलामा परिवारका सबै सदस्य बस्दै आएका सर्वसाधारणलाई मात्र अनुदानमा गोठ बनाउन गाउँपालिकाले रकम सहयोग गर्ने अध्यक्ष गिरीले जानकारी दिए । बारेकोट पशुपालनको राम्रो सम्भावना भएको पालिका हो ।

यहाँ बर्खायाममा पाटन र हिउँदयाममा आफ्नै घर वरिपरिको घाँसमा निर्भर भइ पशुचौपाय पालन हुने गरेको छ । अहिले पालिकाभित्र रहेका वास्तविक गरिब पशुपालक किसानहरुको तथ्याङ्क सङ्कलन गर्ने काम सुुरु भइसकेको छ । सुरुमा बारेकोट गाउँपालिका–१ सिल्पाचौरको पुनगाउँबाट कार्यक्रम लागू गरिने पालिकाले जनाएको छ । सुरक्षित गोठ निर्माण भएसँगै पशुपालन व्यवसाय समेत फस्टाउने गाउँपालिकाको विश्वास छ ।

अलग गोठ निर्माण भएमा मानव स्वास्थ्यलाई समेत सहयोग पुग्ने अपेक्षा छ । गोठ र घर छुट्याएपछि मात्र यहाँको स्वास्थ्य अवस्था थप राम्रो हुने पालिकाले जनाएको छ । पशुचौपायको मलमूत्र गन्ध माथिल्लो तलामा आउनाका साथै घरभित्र जाँदा र आउँदा समेत प्रतिकूल असर पर्ने गरेकाले छुट्टै गोठ निर्माण गर्न लागिएको हो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७