जनयुद्धको बेलामा भएका अन्तरजातीय विवाह सम्बन्ध विच्छेदतिर गए : प्रचण्ड


८ चैत्र २०७९, बुधबार
prachanda rastriya sabha 2079 12 08

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका बेला भएका अन्तरजातीय विवाह सम्बन्ध विच्छेदतिर गएको स्वीकार गरेका छन् । राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले जनयुद्धका बेला अन्तरजातीय विवाहलाई गर्वको रूपमा लिने गरे पनि पछिल्लो समय बिस्तारै हराउँदै गएको बताए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि अन्तरजातीय विवाहहरू कम हुँदै गएको उनले बताएका छन् । ‘हामीले जनयुद्धमा अन्तरजातीय विवाहमा गर्व गर्थ्याै । ती गर्व गर्ने विषय बिस्तारै हुन छोडे । जनयुद्धको बेलामा भएको अन्तरजातीय विवाह सम्बन्ध विच्छेदतिर गए । अन्तर जातीय विवाह जुनस्तरमा गर्वको रूपमा गरिन्थ्यो त्यो हुन छोडे’ प्रचण्डले भने । दलित समुदायमाथिको विभेद अन्त्य गर्न सांस्कृतिक आन्दोलनको विषय भएको प्रचण्डले बताए ।

‘हामी जति बेला हामी क्रान्तिकारी आन्दोलनमा थियौं । त्यतिबेला अन्तरजातीय विवाह हुँदा गर्व गर्थ्याै । अन्तर जातीय विवाह हुँदा एउटा उच्च जातीय भनिने र दलित समुदायको बीचमा विवाह हुँदा समारोह गर्ने त्यसलाई सम्मानित गर्ने सबैले गर्व गर्ने जनतालाई राखेर भाषण गर्ने गरिन्थ्यो’ प्रचण्डले भने, ‘दलित समुदायबाट वीरता र बलिदान कायम गरिए भने समाजमा स्थापित गरिन्थ्यो । त्यसलाई सांस्कृतिक आन्दोलनको रूपमा लिइन्थ्यो ।’

माओवादी विस्तृत शान्ति सम्झौता हुँदै संविधान सभाबाट यहाँसम्म आइपुग्दा दलित समुदायका हक अधिकारहरुलाई संवैधानिक रूपमा सम्बोधन गर्न सफल भएको प्रचण्डले बताए । दलित समुदायको विभेद अन्त्य गर्न कानुनी रूपमा व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७