नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माणमा प्राधिकरणको ताकेता


१२ चैत्र २०७९, आईतवार
kulman khimti scaled

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ खिम्ती–बाह्रबिसेखण्ड निर्माण सम्पन्न गर्न ताकेता गरेको छ ।

चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा जोड्न नसकी खेर जाने अवस्था आउन नदिन प्राधिकरणले नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ ।

नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण र सबस्टेसनको क्षमतावृद्धिका लागि २२०/१३२/३३ केभी, २०० एभीए क्षमताको थप पावर ट्रान्सफर्मर जडान कार्य जारी छ । रामेछापका मन्थली नगरपालिका–१३, साँखे (फुलासी) स्थित नयाँ खिम्ती सबस्टेसनदेखि सिन्धुपाल्चोकको बाह्रबिसे सबस्टेसनसम्मको प्रसारण लाइनको लम्बाइ ४३ किलोमिटर छ । रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्ला भएर जाने नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन खण्डमा पर्ने ११८ वटा टावरमध्ये ९३ वटा टावरको जग हालिएको छ ।

७३ वटा टावर खडा गरिएको छ । २० किलोमिटर तार तानिएको छ । ६ वटा टावरको जग हाल्ने र ३ वटा टावर खडा गर्ने काम भइरहेको छ । रामेछापमा पर्ने तीनवटा टावरको निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरू गरिएको छ । दोलखामा पर्ने ८४ वटा टावरमध्ये मेलुङ गाउँपालिका–७, सित्तलीमा निर्माण हुने एकवटा टावर जग्गाधनीको अवरोधका कारण निर्माण हुन सकेको छैन । अधिग्रहण गरिने जग्गाका लागि २०७७ को पुसमा प्रतिरोपनी १० लाख रुपैयाँ मुआब्जा निर्धारण गरिएकोमा त्यसमा असहमति जनाउँदै जग्गाधनीले निर्माणमा अवरोध गरिरहेका छन् ।

सिन्धुपाल्चोकमा पर्ने ३१ वटा टावरमध्ये १३ वटाको जग हालिएको छ भने तीनवटा खडा गरिएको छ । भौगोलिक रुपमा कठिन तथा जटिल स्थानमा पर्ने बाँकी टावरहरू निर्माणका टावर निर्माणस्थलसम्म पुग्न पहुँच सडक खन्ने काम भइरहेको छ । नयाँ खिम्ती–बाह्रबिसे खण्डको समग्र निर्माण प्रगति ७० प्रतिशत रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालय उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित उच्चस्तरीय टोलीले शनिबार स्थलगत अनुगमन भ्रमण गरी प्रसारण लाइन र सबस्टेसन निर्माण प्रगतिका बारेमा छलफल गरेको छ ।

टोलीले प्रसारण लाइन निर्माणमा रुख कटान, जग्गा अधिग्रहण, निर्माण सामग्री तथा उपकरणहरूको आपूर्ति, स्थानीयको अवरोध, निर्माण सम्पन्न हुने तालिकालगायतका विषयमा विस्तृतरुपमा छलफल गरेको थियो । नयाँ खिम्ती–बाह्रबिसे खण्ड प्रसारण लाइन र सबस्टेसनको काम आगामी साउनभित्र सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माणमा संलग्न व्यवसायीहरूलाई टोलीले निर्देशन दिएको छ ।

नयाँ खिम्ती–बाह्रबिसे खण्ड प्रसारण लाइन निर्माणका लागि चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको उपक्रमले ठेक्का पाएको थियो । तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो ।

यही कम्पनीहरूले नै २२० केभी बाह्रबिसे सबस्टेसन निर्माण गरिरहेको छ । प्राधिकरणले सबस्टेसन निर्माण आगामी असारभित्र सम्पन्न गर्ने समयसीमा दिएको छ ।

तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजना बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन र बाह्रबिसेमा २२०/१३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् । साथै, लप्सीफेदीमा ४००/२२०-१३२/११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण भइरहेको छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले निर्माण गरेको २२०/१३२ केभी, १०० एभीए क्षमताको नयाँ खिम्ती सबस्टेसनको क्षमता विस्तारका लागि काम भइरहेको छ । खिम्ती र लिखू नदी करिडोरमा निजी क्षेत्रका जलविद्युत् आयोजनाका विद्युत् जोड्नका लागि नयाँ खिम्ती सबस्टेसनको हालको क्षमताले नधान्ने हुँदा क्षमता विस्तार गर्न लागिएको हो । यसका लागि सबस्टेसनमा ६६.६७ एमभीएका ४ वटा, ३० एमभीएका २ वटा र ६-८ एमभीएको एक वटा पावर ट्रान्सफर्मर जडान कार्य भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७