सकियो एसईई : नतिजा असार तेस्रो साता


२९ चैत्र २०७९, बुधबार
see 1 scaled

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सकिएको छ । यहीँ चैत १७ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा छिटफुट घट्ना बाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

देशका ७७ जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रसहित जापानमा एक गरी दुई हजार ३७ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सम्पन्न भएको उनले बताए । ‘छिटफुट घटना बाहेक सबै परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको छ । घटना भएका केन्द्रका केहीलाई कानुनी दायरमा ल्याएका छौँ’, श्रेष्ठले भने । उनका अनुसार यसवर्ष परीक्षामा चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी थिए ।

यस वर्षको एसइई परीक्षामा सहभागी हुनका लागि विसं २०७८ मा कक्षा ९ मा रजिस्ट्रेशन भर्ने पाँच लाख १६ हजार पाँच सय ९१ विद्यार्थीमध्ये कक्षा १० मा आउँदा ३२ हजार तीन सय ६४ विद्यार्थी घटेर चार लाख ८४ हजार दुई सय २७ पुगेका थिए । नेपालबाट रोजगारीकका लागि जापान पुगेका अभिभावकका १४ जना छोराछोरीले पनि यसवर्ष जापानबाटै परीक्षा दिएका छन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा पढाइ हुने टोकियोको एक शैक्षिक संस्थाबाट उनीहरुले परीक्षामा सहभागी भएका परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।

परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशबाट एक लाख ६ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णली प्रदेशबाट ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी भएका थिए । प्राविधिक धारतर्फ करिब १५ हजार, संस्कृतमा पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ जना र ५० जना दृष्टिविहीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

कार्यालयले एसइई परीक्षाको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने योजना गरिएको छ । ‘कुनै समस्या नआए असार तेस्रो सातासम्म नतिजा सार्वजनिक गर्ने गरी योजना बनाएका छौँ’, परीक्षा नियन्त्रक श्रेष्ठले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७