कर्मचारी खटनपटनमा राजनीतिक हस्तक्षेप भयो : मन्त्री मोदी


२९ चैत्र २०७९, बुधबार
Amanlal Modi

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय सरकारअन्तर्गतका कर्मचारी खटनपटनमा चर्को राजनीतिक हस्तक्षेप हुने गरेको बताएका छन् ।

सङ्घीय निजामती सेवा ऐन, कर्मचारी व्यवस्थापन र स्थानीय तहमा देखिएका समस्याबारे आज प्रतिनिधिसभाको बैठकमा मन्त्री मोदीले सङ्घ, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले आफू अनुकूलका कर्मचारी खोज्ने र कर्मचारीले सुगम रोज्ने प्रवृत्ति बढेको बताएका हुन् । कर्मचारी सरुवा र खटनपटनमा विभिन्न दलबाट निर्वाचित जनप्रतिनिधिले सोझै हस्तक्षेप गर्ने गरेको उनको भनाइ छ ।
‘एउटा मेयर आउनु हुन्छ, मलाई कर्मचारी चाहियो भन्नु हुन्छ । कर्मचारी पठायो, अर्को साथी आउनु हुुन्छ र मलाई नसोधी किन पठाएको भन्नुहुन्छ । त्यहाँको प्रतिनिधिसभाको सांसद म हो भन्नुहुन्छ’, मन्त्री मोदीले संसदमा भने, ‘सङ्घीय मामिला मन्त्रालयमा मन्त्रालयमा दैनिक रुपमा भीड हुन्छ । स्थानीय तहमा मात्र होइन सङ्घीय मन्त्रालय र प्रदेशहरुले पनि आफू अनुकूलका कर्मचारी मात्रै चाहियो भन्नुहुन्छ ।’

सङ्घीय सरकार र प्रदेशमा पनि कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको भनाइ छ । ‘हामीलाई सहज बनाउन फलानो कर्मचारी पठाउनुपर्‍यो भन्नुहुन्छ । सबैले आफू अनुकूलका मात्रै कर्मचारी खोज्ने हो भने अहिलेको मागअनुसार दुई हजार मात्रै खटाउन सकिन्छ’, उनले भने, ‘सङ्घअन्तर्गतका ५३ हजार कर्मचारीमध्ये बाँकी ५१ हजार कर्मचारीलाई कहाँ पठाउने ? दुर्गममा कोही जान चाहँदैनन् । विकट नाम सुन्नै चाहँदैनन् ।’

जनप्रतिनिधिले कर्मचारी खटनपटनमा हस्तक्षेप गर्ने गरेको र कर्मचारी संयन्त्रले सुगम मात्रै रोज्ने गरेको प्रवृत्ति अहिलेको गम्भीर समस्या रहेकाले आफूले यसबारे संसद्लाई जानकारी गराएको मन्त्री मोदीको भनाइ छ । ‘कर्मचारी सबैलाई काठमाडौँ वरिपरि, उपत्यका वरिपरि, सुगम ठाउँमा मात्रै जान चाहन्छन् । अधिकृतले चलाउनुपर्ने गाउँपालिका त्योभन्दा तल्लो तहको कर्मचारी र उपसचिवले चलाउनुपर्ने नगरपालिका अधिकृत तहको कर्मचारीले चलाइरहेका छन् । यस्तो विकृति छ’, उनले भने ।

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पालिकाहरुमा निमित्त प्रमुख प्रशासकीय अधिकृत पठाउन छाडेको र पूर्ण जिम्मेवारीसहित पठाउने गरेको उनको दाबी छ । ‘म मन्त्रालयमा आउँदा दुई सय ४१ पालिकाहरु निमित्तको भरमा चलिरहेका थिए । त्यसमध्ये अहिले ६० वटामा प्रमुख प्रशासकीय अधिकृत पठाएको छु’, मन्त्री मोदीले भने । सबै कर्मचारीले न्याय पाउने गरी नियमित सरुवा प्रणाली लागू गर्न आफू लागिपरेको उनको भनाइ छ ।

त्यस्तै, सरकारले सङ्घीय निजामती सेवा ऐन चाँडो ल्याएर कार्यान्वयन गर्न चाहेको पनि उहाँले बताउनुभयो । अहिले सैद्धान्तिक स्वीकृतिका लागि कानुन मन्त्रालय र अर्थ मन्त्रालय पठाइएको सङ्घीय निजामती सेवा विधेयक चाँडै नै संसद्मा दर्ता हुने उनको भनाइ छ ।

‘म पद बहाल गर्दै गर्दा सङ्घीय निजामती सेवा ऐन ल्याउने र सुशासन कायम गर्ने विषयलाई महत्वका साथ उठाइएको थियो । धेरै लामो समयसम्म अघि बढ्न नसकेको सङ्घीय निजामती विधेयक जसरी पनि संसद्मा ल्याउने प्रयास सरकारले गरेको छ’, मन्त्री मोदीले भने । यो ऐन आउँदा कर्मचारी व्यवस्थापनमा अहिले देखिएका आधा समस्या समाधान हुने उहाँको विश्वास छ । ऐनलाई समयसापेक्ष परिमार्जन गर्दै जान सकिने हुँदा ऐनमा राखिएका विषयहरुलाई धेरै पेचिलो बनाउनुभन्दा त्यसलाई चाडो स्वीकृत गरिनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७